काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरिताश्री ज्ञवाली र सागर ढकाललाई सचिवालय सदस्यमा चयन गरेको छ। सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले उनीहरूलाई सचिवालय सदस्य बनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकले केन्द्रीय सल्लाहकार परिषद्मा पनि चार जना नयाँ सदस्य मनोनित गरेको छ। मनोनित हुनेहरूमा काभ्रेकी जीवन प्रभा लामा, नवलपरासी (पूर्व) का मोतीप्रसाद पंगाली, भक्तपुरका हरिप्रसाद पाण्डे र कपिलवस्तुका बिष्णुहरी शर्मा रहेका छन्।
यसैगरी, बैठकले पार्टीका जनप्रतिनिधि र कर्मचारीहरूले बुझाउनुपर्ने मासिक लेबीसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ। नयाँ निर्णयअनुसार अब रास्वपाबाट मन्त्री बनेकाहरूले १८ हजार, सांसदले १५ हजार र स्वकीय सचिवहरूले २ हजार रुपैयाँ मासिक लेबी बुझाउनुपर्नेछ। निर्वाचनको तयारी र पार्टीको आन्तरिक सुदृढीकरणका विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ।