काठमाडौँ।
ऐतिहासिक कालखण्डमा मुलुकको हरेक लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको नेपाली काँग्रेस यतिबेला आफ्नो इतिहासकै सबैभन्दा कठिन मोडमा आइपुगेको छ । आन्तरिक कलह, गुटबन्दी र नेतृत्वको टकरावका कारण देशकै पुरानो यो पार्टी अहिले औपचारिक फुटको संघारमा पुगेको संकेतहरू देखिएका छन् ।
पार्टीभित्रको विवाद पछिल्लो पटक २ वैशाख २०८३ मा तब सतहमा आयो, जब नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले उपसभापति पूर्ण बहादुर खड्कालाई स्पष्टीकरण सोध्यो। समितिले खड्का अब उपसभापति पदमा नरहेको दाबी गर्दै पत्र काटेपछि संस्थापन र इतर पक्षबीचको दूरी झनै बढेको छ । यता, खड्काले भने आफू अझै आधिकारिक उपसभापति रहेको जिकिर गर्दै अनुशासन समितिको निर्णय र पत्रलाई ठाडै अस्वीकार गरिदिएका छन् ।
कांग्रेसभित्रको भुसको आगो ’जेनजी आन्दोलन’ पछिको विशेष महाधिवेशनबाट सल्किएको हो । उक्त महाधिवेशनबाट युवा नेता गगन थापा सभापतिमा निर्वाचित भए पनि पूर्वसभापति शेर बहादुर देउबा र नेता डॉ. शेखर कोईराला समूहले त्यसलाई स्वीकार गरेनन् । निर्वाचनको परिणामलाई लिएर उत्पन्न विवादका कारण अहिले कांग्रेस देउवा, थापा र कोइराला गरी तीन स्पष्ट धारमा विभाजित भएको छ ।
यो लडाइँ अहिले निर्वाचन आयोग र अदालतको ढोकासम्म पुगेको छ । कानुनी रूपमा पार्टी कसको हुने भन्ने विषय विचाराधीन अवस्थामा छ । यता भर्खरै सम्पन्न निर्वाचनमा कांग्रेसले लज्जास्पद पराजय भोग्नुप¥यो । कमजोर प्रतिपक्षी भूमिका र चुनावी हारले कार्यकर्तामा चरम निराशा पैदा गरेको छ ।
पार्टीभित्रको अविश्वास यतिसम्म गहिरिएको छ कि,अब एकताको सम्भावना लगभग समाप्त भएको विश्लेषण गर्न थालिएको छ । निकट स्रोतका अनुसार, वर्तमान सभापति गगन थापा, पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला तीनै जनाले आ–आफ्नो नेतृत्वमा नयाँ राजनीतिक दल गठनका लागि आन्तरिक गृहकार्य र परामर्श तीव्र पारेका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार, कांग्रेसको यो विग्रहले केवल एउटा पार्टीलाई मात्र होइन, समग्र मुलुकको लोकतान्त्रिक प्रणाली र शक्ति सन्तुलनमै गम्भीर असर पार्न सक्छ । तर, शीर्ष नेताहरूबीचको अहंकार र गुटगत स्वार्थका कारण ’बीपीको कांग्रेस’ जोगाउनु अहिलेका लागि फलामको चिउरा चपाउनु सरह भएको छ । यदि समयमै संवाद र निकास ननिस्कने हो भने, नेपाली कांग्रेसको नाम र चुनाव चिह्न ’रुख’ इतिहासको पानामा मात्र सीमित हुने खतरा बढेको छ ।