काठमाडौँ
विराटनगरमा पर्यटक भिसामा आएर गोप्य रूपमा धार्मिक प्रचार तथा प्रशिक्षण दिइरहेका ६ जना सिंगापुरका नागरिक पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरूलाई विराटनगर महानगरपालिका–१२ स्थित एक होटलको सभाहलबाट शनिबार बिहान नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा कोह वी हक, लोह ली पेङ, ली बेङ एन, लोह ली तियान, ओङ चिउ कोक र चिउ टेक फोक रहेका छन्। उनीहरू सबै पर्यटक भिसामा नेपाल आएको राहदानीबाट खुलेको छ।
प्रहरी अनुसन्धानका क्रममा मुख्य व्यक्ति कोह वी हकले सन् २०१६ देखि हालसम्म ३६ पटक नेपाल आउजाउ गरेको तथ्य भेटिएको छ। उनीहरूको समूहले लामो समयदेखि नेपालमा संगठित रूपमा धार्मिक गतिविधि सञ्चालन गर्दै आएको आशंका गरिएको छ। होटलको हलमा पर्दा लगाएर गोप्य रूपमा कार्यक्रम सञ्चालन गरिँदै थियो, जहाँ लाफिङ बुद्धसम्बन्धी धार्मिक प्रशिक्षण दिइँदै गरेको पाइएको छ।
उक्त कार्यक्रममा १२ देखि १३ वर्ष उमेर समूहका १२ जना नेपाली किशोरीहरूलाई सहभागी गराइएको थियो भने एक नेपाली महिला निरा राजभण्डारीको पनि उपस्थिति रहेको बताइएको छ। स्रोतका अनुसार विशेषगरी महिला र बालबालिकालाई लक्षित गरी यस्ता कार्यक्रम सञ्चालन गरिनु शंकास्पद देखिएको छ।
प्रहरीले उनीहरूको साथबाट राहदानी बरामद गरेको छ र थप अनुसन्धान भइरहेको जनाएको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले पर्यटक भिसामा आएर धर्म प्रचार तथा प्रशिक्षण दिनु अध्यागमन कानुनविपरीत भएकोले उनीहरूलाई पक्राउ गरिएको पुष्टि गरेका छन्। उनका अनुसार यस प्रकारका गतिविधि गर्न नेपाल सरकारको अनुमति आवश्यक हुन्छ।
हाल पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि काठमाडौंस्थित अध्यागमन विभाग पठाउने तयारी भइरहेको छ। यसअघि पनि उक्त समूहले उदयपुर क्षेत्रमा घर भाडामा लिएर यस्तै गतिविधि सञ्चालन गरेको आशंका गरिएको छ।
लाफिङ बुद्ध चिनियाँ बौद्ध परम्परामा आधारित बुदाईको स्वरूप मानिन्छ, जसलाई सुख, शान्ति र समृद्धिको प्रतीकका रूपमा लिइन्छ। तर पछिल्लो समय केही नव–धार्मिक समूहहरूले यसैको आधारमा छुट्टै प्रकारका आध्यात्मिक सञ्जाल सञ्चालन गर्दै आएको पाइन्छ, जसले विभिन्न वर्गलाई लक्षित गरी प्रचार गर्ने गरेको देखिन्छ।