काठमाडौँ
अमेरिकी सहायक विदेशमन्त्री एस. पावल कपुर तीन दिने औपचारिक भ्रमणका लागि सोमबार नेपाल आउँदै छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार कपुरको भ्रमण वर्तमान सरकार गठनपछिको महत्वपूर्ण उच्चस्तरीय भ्रमणका रूपमा हेरिएको छ।
भारतका विदेश सचिव विक्रम मिस्री नेपाल आउने तयारी भइरहेका बेला कपुरको भ्रमण तय भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पका नजिकका सहयोगीका रूपमा चिनिएका कपुर दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने जिम्मेवारीमा छन्।
राष्ट्रपति ट्रम्पले तत्कालीन सहायक विदेशमन्त्री डोनाल्ड लुलाई हटाएर २०८१ फागुनमा कपुरलाई उक्त पदमा नियुक्त गरेका थिए। भारतीय मूलका कपुरको जन्म भारतमा भएको हो, जहाँ उनका पिता भारतीय र माता अमेरिकी मूलकी हुन्।
यसअघि सहायक विदेशमन्त्री रहँदा डोनाल्ड लुले चार पटक नेपाल भ्रमण गरेका थिए। नेपालमा एमसीसी कार्यान्वयनमा उनको भूमिका उल्लेखनीय मानिन्छ, जसअन्तर्गत उच्चस्तरीय भेटघाटपछि संसदबाट एमसीसी अनुमोदन भएको थियो।
कपुरको नेपाल भ्रमणलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ। उनी अमेरिकाको राष्ट्रिय सुरक्षा मामिला विभागका प्राध्यापक तथा अमेरिकी नाभल पोस्ट ग्राजुएट स्कुलमा समेत अध्यापन गरिसकेका छन्। विदेश विभागमा रहँदा उनले दक्षिण एसियाली सुरक्षा, आणविक रणनीति र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा काम गरेका थिए।
उनले भारत–पाकिस्तान सम्बन्ध, आतंकवाद तथा क्षेत्रीय सुरक्षाका विषयमा अनुसन्धान गर्दै आएका छन्। पाकिस्तानप्रति कडा आलोचकका रूपमा चिनिए पनि पछिल्लो समय इरान–अमेरिका वार्तामा पाकिस्तानको मध्यस्थतामा उनको भूमिकाको चर्चा हुँदै आएको छ।
दक्षिण तथा मध्य एसियामा बढ्दो भूराजनीतिक प्रतिस्पर्धाबीच नेपालको परराष्ट्र नीति पनि चर्चामा रहेको छ। यस सन्दर्भमा कपुरको भ्रमणले नेपाल–अमेरिका सम्बन्ध, क्षेत्रीय स्थिरता र सहकार्यका विषयमा महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ।
भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री शिशिर खनालसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीसँग भेट हुने वा नहुने विषय भने हालसम्म टुंगो लागिसकेको छैन।