काठमाडौँ
प्रतिनिधिसभाका १० जना सांसदहरूको संसदीय समिति हेरफेर गरिएको छ। सभामुख डोल प्रसाद अर्यालले बिहीबार विभिन्न समितिमा कार्यरत सांसदहरूलाई अर्को समितिमा सरुवा गरेका हुन्।
प्रतिनिधिसभा सचिव हर्कराज राईका अनुसार अधिवेशन प्रारम्भ भएपछि सहमतिका लागि प्रस्ताव गर्ने गरी यो हेरफेर गरिएको हो। सभामुखको निर्णयअनुसार विभिन्न समितिबीच सांसदहरूको जिम्मेवारी अदलाबदली गरिएको छ।
संसदीय सुनुवाइ समितिमा रञ्जु न्यौपाने दर्शनाको स्थानमा पुनम कुमारी अग्रवाल र चन्दन कुमार सिंहको स्थानमा दीपकराज बोहरा ल्याइएका छन्। त्यस्तै, डा. राम लामा र गणेश कार्कीलाई राज्य व्यवस्था तथा सुशासन समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सरुवा गरिएको छ।
त्यसैगरी, जगदीश खरेललाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा लगिएको छ। दीपकराज बोहरा र बब्लु गुप्तालाई अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा सरुवा गरिएको छ।
यस्तै, रहबर अन्सारीलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिमा र हरि प्रसाद भुसाललाई अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइएको छ। चन्दनकुमार सिंहलाई उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सरुवा गरिएको छ।
