काठमाडौँ
नेपालमा अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट बन्द गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले अवैध रूपमा सञ्चालनमा रहेका यस्ता डिजिटल माध्यमहरू पहिचान गरी बन्द गर्ने अभियान तीव्र पारेको जनाएको छ।
प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार देशभरका इन्टरनेट सेवा प्रदायकहरूसँगको समन्वयमा हालसम्म १० हजारभन्दा बढी एप र वेबसाइट बन्द गरिसकिएको छ। नेपाल टेलिकमले मात्रै २१ हजारभन्दा बढी यस्ता प्लेटफर्म बन्द गरेको जानकारी दिइएको छ। यस्ता अवैध एप तथा वेबसाइटहरूको पहिचान र नियन्त्रण गर्ने कार्य निरन्तर जारी रहेको पनि उनले बताए।
सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकले सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने व्यवस्था गरेको थियो। सोही निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणलाई आवश्यक निर्देशन दिएको थियो, जसपछि इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी कारबाही अगाडि बढाइएको हो।
मुलुकी अपराध संहिता, २०७४ अनुसार सट्टेबाजी गर्न वा गराउन नपाइने कानुनी व्यवस्था छ। उक्त प्रावधान उल्लङ्घन गरेमा प्रयोग भएको रकम जफत हुनुका साथै एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान रहेको छ। साथै, विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ ले पनि जुवा तथा सट्टेबाजीसम्बन्धी प्रचार–प्रसारमा प्रतिबन्ध लगाएको छ।
सरकारले सर्वसाधारणलाई यस्ता अवैध एप तथा वेबसाइट प्रयोग नगर्न आग्रह गर्दै नियमविपरीत गतिविधिमा संलग्न पाइएमा कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ। साथै, कुनै शङ्कास्पद डिजिटल गतिविधिबारे जानकारी भएमा सम्बन्धित निकायमा सूचित गर्न पनि नागरिकलाई आग्रह गरिएको छ।