काठमाडौँ
आर्थिक सङ्कटले थलिएको हेटौँडा सिमेन्ट उद्योगलाई नियमित तथा पूर्ण क्षमतामा सञ्चालन गर्न माग उठेको छ। पछिल्लो समय सरकारले रुग्ण उद्योगहरू पुनः सञ्चालनमा ल्याउने तयारी गरिरहेका बेला बारम्बार बन्द–खुल्दै आएको उक्त उद्योगलाई स्थायी रूपमा सञ्चालन गर्न सरोकारवालाहरूले जोड दिएका हुन्।
उद्योग सञ्चालनका विषयमा सांसद प्रकाश गौतमले सक्रिय पहल थालेका छन्। उनले हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधान गरी नियमित सञ्चालनका लागि सङ्घीय सरकार तथा बागमती प्रदेश सरकारसँग समन्वय गरिरहेको बताएका छन्। यस सम्बन्धमा प्रधानमन्त्री, उद्योगमन्त्री तथा बागमती प्रदेशका मुख्यमन्त्रीसँग समेत छलफल भएको र सकारात्मक आश्वासन प्राप्त भएको उनको भनाइ छ।
गौतमका अनुसार उद्योग सञ्चालन सम्भव भए पनि राजनीतिक हस्तक्षेप, आन्तरिक अव्यवस्था तथा भ्रष्टाचारका कारण उद्योग रुग्ण बनेको हो। उचित व्यवस्थापन, पारदर्शिता र नयाँ नेतृत्वको व्यवस्था गर्न सके उद्योग पुनः सञ्चालनमा ल्याउन सकिने सम्भावना रहेको उनले बताए।
उद्योग प्रशासनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा भदौ १९ देखि २४ गतेसम्म मात्र पाँच दिन उद्योग सञ्चालन भएको थियो। सो अवधिमा करिब २,५०० टन क्लिङ्कर र झण्डै ३० हजार बोरा सिमेन्ट उत्पादन गरिएको निमित्त महाप्रबन्धक डा. शिवनारायण साहले जानकारी दिए।
गत चैत १३ गतेदेखि पुनः उत्पादन प्रक्रिया सुरु गरिएको भए पनि कच्चा पदार्थको अभावका कारण उद्योग फेरि बन्द हुने अवस्थामा पुगेको छ। कोइला खरिदका लागि बोलपत्र आह्वान गरिए पनि पुरानो बक्यौता रकम नतिरेकाले आपूर्ति हुन नसकेको र एक–दुई दिनमै उत्पादन ठप्प हुने अवस्था रहेको जनाइएको छ।
उद्योगमा हाल मौज्दात कच्चा पदार्थबाट क्लिङ्कर उत्पादन भइरहेको भए पनि त्यसको दीर्घकालीन निरन्तरता सम्भव छैन। उत्पादन बन्द हुँदा पनि कर्मचारीको तलब, इन्धन तथा मर्मत खर्च भने जारी रहेकाले आर्थिक भार झन् बढ्दै गएको छ।
उद्योगमा दैनिक सञ्चालनका लागि कम्तीमा १२० टन कोइलाको आवश्यकता पर्ने भए पनि हाल सो व्यवस्था छैन। साथै, कोइलाको पुरानो भुक्तानी बाँकी रहेकाले तत्काल आपूर्ति हुने सम्भावना न्यून रहेको छ। आर्थिक अभावकै कारण कर्मचारीको अतिरिक्त कामको भुक्तानी समेत हुन सकेको छैन।
हाल उद्योगमा १६६ स्थायी, १०० दैनिक ज्यालादारी र ५२ जना सुरक्षाकर्मी गरी कुल ३१८ जना कार्यरत छन्। विद्युत् प्राधिकरणको करिब ३०–४० करोड रुपैयाँ महसुल बक्यौता बाँकी रहेकाले नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्नसमेत समस्या भइरहेको छ।
विसं २०३३ मा स्थापना भएको यो उद्योगले २०४३ सालदेखि उत्पादन सुरु गरेको थियो। हाल प्रयोगमा रहेका उपकरणहरू पुराना भइसकेकाले उत्पादन क्षमतामा समेत असर परेको प्राविधिकहरू बताउँछन्। यस्तो अवस्थामा उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न ठोस सुधार आवश्यक देखिएको छ।