काठमाडौँ । सूर्य पञ्चाङ्गको विक्रम संवत अनुशार वैशाख १ लाई नयाँ वर्ष भन्ने गरिएको छ । नयाँ सालमा नयाँ जोस, जागरका साथ नयाँ कामको थालनी गर्नु पर्दछ भन्ने मान्यता नेपाली समाजमा अझै विधित छ । तर, प्रत्येक वसन्तमा साल फेरिए पनि देशको हाल भने उस्तै नै छ । जनता पुस्तेनी परिस्थितिसँग संघर्ष गरिरहेका छन् । कहिले राणा शासन अन्त्य त, कहिले लोकतन्त्रले ल्याएका विकृतिसँग भिड्दा भिड्दै थलिएका नागरिकहरु अझै अवस्था फेरिने पर्खाइमा छन् ।
फेरि एउटा नयाँ वर्षमा टेक्दै छौँ । तर, सँधै पात्रो फेरिन्छ, शुभकामना साटिन्छ, देशको अवस्था भने ज्यूँका त्यूँ । फेरि पनि जनजनको प्रश्न एउटै छ, कहिले फेरिन्छ, जीवन ?
विगतका वर्ष राजनीतिक वाचा धैरै गरिए, तर, हात लाग्यो शून्य । कार्यान्वयनमा सर्वत्र शून्यता र निराशा मात्रै देखियो । महँगी बढिरह्यो, विचौलिया र महँगीको जाँतोमा पिसिइरहे, नेपाली जनता । रोजगारीको अभाव झन् गहिरियो । रोजगार खोज्दै खाडी जाने युवाहरूको ताती अहिले पनि मेनपावरदेखि त्रिभुवन विमानस्थलसम्म उस्तै छ । अनि बुढेसकालको साहारा हात हल्लाउँदै विदेशीएको हेर्न बिवस छन्, ति बाआमा । यता, सहरमा जाम उस्तै, सार्वजनिक निकायको सेवामा ढिला सुस्ती उस्तै । समस्याका चाङ उस्तै । सँधै झैँ पात्रो फेरियो, जनताको सास्ती र परिस्थिति उस्तै ।
२०८२ लाई फर्केर हेर्दा निराशामाथि ध्वंशको क्रान्तिले आशा जगाएको वर्षका रुपमा हेर्न सकिन्छ । राजनीतिक उपद्रव के भयो भने ? एकै वर्ष तीन प्रधानमन्त्री । केपी शर्मा ओली,सुशीला कार्कीर बालेन्द्र शाह ।
सुरुमा भदौ २४ सम्म खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री थिएँ । सिंहदरबारमा प्रधानमन्त्रीका रुपमा उनको त्यो तेस्रो खेप थियो । दुई खेपसम्म पनि नसुध्रिएका ओलीलाई तेस्रो खेपमा जनताले सत्ताबाट उतारे । चरम भ्रष्टाचार, बेथिति र वेरोजगारीले डढेका युवाको आक्रोशले अन्ततः जेनजी आन्दोलनको रुपमा सत्ता उलटफेर गरिदियो । जुन छोटो समयमा सत्तापलटको रेकर्ड बन्यो । २४ घण्टामै राजनीतिक सत्ता अपदस्त, देश खरानी । विद्रोहकाबीच १९ जना युवाले वीरगति प्राप्त गरे । पुराना पार्टी र नेता तथा कार्यकर्तालाई हेर्न दृष्टिकोण बदलिएको प्रतित भयो । सडकबाटै जनताले निर्दलीय सरकार गठनको आदेश दिए ।
जनता थप कुराजनीति सहदैनन् भन्ने तथ्य यही आन्दोलनको जगमा बनेको सरकारले गराएको संसदीय निर्वाचनको परिणामले छर्लङ्ग पारिदिएको छ । देशको व्यवस्था तथा नीतिगत रुपमा हुने भ्रष्टचारको कुचक्रले ७६ जनाले मृत्यु वरण गरे । जसले अन्तरिम सरकारको प्रमुखको रुपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई मूली शासक बनायो । जुन सरकार चुनावी मात्रै थियो र जसले सफलतापूर्वक चुनाव गरायो । परिणामतः राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा झण्डै दुई तिहाइको अर्थात् एकमना सरकार गठन भएको छ । पुराना राजनीतिक दलहरु ओरालो लागेका छन् । लामो समयपछि संसदमा झण्डै प्रतिपक्षविहिनताको स्थिति बनेको छ । तर, नयाँ सत्तालाई सुविधा भए पनि सत्रंग सुत्ने छुट भने छैन ।
बालेन सरकारको इन्ट्री
जब भदौ २३ र २४ गते युवाको आक्रोश जेनजी आन्दोलनका रुपमा परिणत भयो त्यो बेलाबालेन्द्र शाह (बालेन) (बालेन) काठमाडौं महानगरपालिका प्रमुख थिए । काठमाडौं महानगरपालिकामा हुदाँ जनताले गरेको आशा अनुरुप काठमाडौंको फोहोर व्यवस्थापनदेखि सडक किनाराका फुटपाथ व्यवस्थित गर्ने र अतिक्रमित सरकारी जग्गा फिर्ता गर्न सफल भएको कथा जोडिन्छ । जसका कारण युवाका नजरमा पर्न सफल भएका बालेन अन्ततः महानगरपिताबाट एकैपल्ट देशको प्रमुख कार्यकारी बन्न सफल भए । परिवर्तनको आन्दोलनमा उनको पनि समर्थन थियो । पछि उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आफुलाई राजनीतिमा उभ्याए । र, अहिले जनताको आशा भरोसाको केन्द्र बनेका छन् । यो अभूतपूर्व अवसर उनले खेर फाल्ने छैनन् । आशा गरौँ, नयाँ सत्ताले नागरिकमा नयाँ उमंग ल्याउने छ । नयाँ वर्ष २०८३ को शुभकामना । ००००