काठमाडौँ
साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक १३.४६ अंकले घटेर २८३७ अंकमा कायम भएको छ।
आइतबार सार्वजनिक बिदा हुने भएकाले शुक्रबार नियमित कारोबार भएको हो। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेर ८ अर्ब ९९ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो दिन बजारमा ९ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
समग्र बजार घटे पनि ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने २०९ कम्पनीको घटेको छ। तीन कम्पनीको मूल्य स्थिर रहेको छ। उत्पादन तथा प्रशोधन समूह भने १.५९ प्रतिशत (१८२ अंक) ले बढ्दै सबैभन्दा राम्रो प्रदर्शन गर्ने समूह बनेको छ। उक्त समूहको सूचक हालसम्मकै उच्च ११ हजार ६४२ अंकमा पुगेको छ।
अन्य सबै समूहका सूचक भने घटेका छन्। बैंकिङ ०.७४ प्रतिशत, विकास बैंक ०.६७, फाइनान्स ०.६०, होटल तथा पर्यटन ०.४४, लगानी १.१२, जीवन बीमा ०.७१, माइक्रोफाइनान्स ०.७३, निर्जीवन बीमा ०.४८, अन्य १.३९ तथा व्यापार १.०६ प्रतिशतले घटेका छन्।
आज ७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। तीमध्ये पाल्पा सिमेन्ट, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, शिखर पावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक रहेका छन्।
त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको मूल्य ९.३६ प्रतिशत र हिमालयन हाइड्रोपावरको ८.४८ प्रतिशतले बढेको छ। माइखोला हाइड्रोपावरको मूल्य भने सबैभन्दा धेरै ४.०४ प्रतिशतले घटेको छ।
आज धेरै कारोबार भएका कम्पनीमा नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, सोलु हाइड्रोपावर र आँखुखोला जलविद्युत कम्पनी रहेका छन्।