काठमाडौँ
सिराहामा प्रहरीले ब्राउन सुगरसहित तीन जना युवकलाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनीहरूलाई बुधौराबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सिराहा धनगढीमाई नगरपालिका–३ का १९ वर्षीय अभिषेक मुखिया, गोलबजार नगरपालिका–१२ का १९ वर्षीय अर्का अभिषेक मुखिया र सोही ठाउँका २१ वर्षीय अरविन सिंह रहेका छन्।
चैत २४ गते साँझ करिब ७ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई शङ्कास्पद देखिएपछि प्रहरीले जाँच गरेको थियो। जाँचका क्रममा मोटरसाइकलको इन्धन ट्याङ्कीको बिर्कोभित्र लुकाइएका तीन वटा पोकामा ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको उक्त पदार्थ प्लास्टिकसहित ४ ग्राम ६० मिलिग्राम र प्लास्टिकबाहेक २ ग्राम ५०० मिलिग्राम रहेको बताइएको छ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सिराहामा राखी थप अनुसन्धान भइरहेको छ। उनीहरूलाई चैत २५ गते जिल्ला अदालत सिराहाबाट म्याद थप गरी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।