काठमाडौँ
प्रतिनिधिसभाको उपसभामुख पदका लागि विपक्षी दलहरूले उम्मेदवारी दिने तयारी गरेका छन्। नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र अन्य विपक्षी दलहरूबीच यस विषयमा आन्तरिक छलफल जारी रहेको छ।
नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह के.सीका अनुसार विपक्षी दलहरूबीच संयुक्त रूपमा उपसभामुखमा उम्मेदवारी दिने तयारी भइरहेको छ। उनले संविधानको मर्मअनुसार सभामुख र उपसभामुख फरक–फरक दलबाट हुनुपर्ने भएकाले विपक्षीको तर्फबाट उम्मेदवारी दिनुपर्ने धारणा व्यक्त गरे।
केसीले सत्तापक्षले पनि संविधानको भावनाअनुसार सहमति कायम गर्नुपर्ने अपेक्षा रहेको बताए। तर, यसबारे औपचारिक निर्णय भने भइनसकेको र दलहरू आन्तरिक छलफलमै रहेको उनले जानकारी दिए।
यसैबीच, संघीय संसद् सचिवालयले उपसभामुखको मनोनयनका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको छ। प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्यालले शुक्रबारको बैठकमा उपसभामुखको निर्वाचन गर्ने घोषणा गरेका छन्।
२७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमत रहेकाले उपसभामुख चयनमा उसको समर्थन निर्णायक हुने देखिएको छ। त्यसैले उपसभामुखको अन्तिम परिणाम र समर्थन समीकरणले नै निर्णय हुने संकेत देखिएको छ।