काठमाडौँ
सेयर बजार बुधबार २८ सय अंक नाघ्दै उल्लेख्य रूपमा बढेको छ। अघिल्लो दिन २.६१ अंक घटेको बजार आज ४५.१२ अंकले बढ्दै नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ। बन्द हुँदा यो अंक नै दिनभरको उच्चतम बिन्दु बनेको हो।
कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ६ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार बढेर ८ अर्ब ३१ करोड रुपैयाँ पुगेको नेप्सेले जनाएको छ। कुल २५१ कम्पनीको मूल्य बढ्दा १५ कम्पनीको घटेको र २ कम्पनीको मूल्य स्थिर रहेको छ।
सबै समूहका सूचकहरू वृद्धि भएका छन्। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ३.८७ प्रतिशतले बढेको छ। बैंकिङ १.१५, विकास बैंक १.९८, फाइनान्स १.४५, होटल तथा पर्यटन २.५६, हाइड्रोपावर २.६१, लगानी १.३५, जीवन बीमा १.३१, माइक्रोफाइनान्स १.२८, निर्जीवन बीमा १.०१, अन्य ०.१५ र व्यापार समूह ०.६१ प्रतिशतले बढेका छन्।
बुधबार ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। ती कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रिटेक, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, रिजलाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक रहेका छन्।
त्यस्तै सान्भी इनर्जीको मूल्य ९.२२ प्रतिशत र बन्दीपुर केबुलकारको मूल्य ८.१८ प्रतिशतले बढेको छ। माइखोला हाइड्रोपावर ३.२३ प्रतिशत, स्वेत गंगा हाइड्रोपावर ४.३५ प्रतिशत र थ्रीस्टार हाइड्रोपावर २.२८ प्रतिशतले घटेका छन्।
आज धेरै कारोबार भएका कम्पनीहरूमा एसवाई प्यानल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र नेसनल हाइड्रोपावर रहेका छन्।