हुलाक कुरियर ‘एक्सप्रेस वे’मार्फत, बिदाका दिन पनि सेवा सञ्चालन

Author

सजिलो पत्रिका

२०८२ चैत २३, सोमबार

18
Share
Featured

काठमाडौँ

हुलाकमार्फत विदेश पठाइने तथा विदेशबाट आउने मालवस्तुको जाँचपास अब ‘एक्सप्रेस वे’मार्फत गरिने भएको छ। यसका लागि हुलाक सेवा विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच समन्वय गरी नयाँ व्यवस्था लागू गर्न लागिएको हो।

हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनीका अनुसार हुलाक वस्तु द्रुतमार्गबाट जाँदा सेवा अझ सुरक्षित, छिटो र भरपर्दो हुने अपेक्षा गरिएको छ। उनले लामो समयदेखिको प्रयासपछि मन्त्रालयको निर्देशन र चासोका कारण यो प्रक्रिया कार्यान्वयनतर्फ अघि बढेको जानकारी दिइन्। अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुलाक कुरियरका लागि ‘डेडिकेटेड’ जाँचपास प्रणालीसमेत स्थापना गरिनेछ।

यससँगै सार्वजनिक बिदाको दिन पनि हुलाक सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। अब विदेश पठाउने र विदेशबाट आएका सामान छुटाउने काम बिदाका दिनमा समेत सहज रूपमा गर्न सकिनेछ। यसअघि गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारले बिदाका दिन सेवा दिँदै आए पनि भन्सार कार्यालय र बैंक बन्द हुँदा जाँचपासमा समस्या हुने गरेको थियो।

अन्तरनिकायबीच समन्वय अभावका कारण सेवा प्रभावित भएको गुनासो बढेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यसमा चासो देखाएको थियो। सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले भन्सार विभागसँग समन्वय गर्दै सार्वजनिक बिदामा पनि सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको हो।

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले सार्वजनिक बिदामा समेत हुलाक वस्तु जाँचपासका लागि सम्बन्धित कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिएका छन्। मन्त्रालयको निर्देशनपछि हुलाक सेवा विभागले भन्सार विभागलाई पत्राचार गर्दै सेवा निरन्तरता सुनिश्चित गर्न आग्रह गरेको थियो।

पछिल्लो समय हुलाकमार्फत कुरियर सेवाको प्रयोग बढ्दै गएको छ। गोश्वारा हुलाक कार्यालय डिल्लीबजारका अनुसार गत फागुन महिनामा मात्र १९ हजार २०० भन्दा बढी विभिन्न प्रकारका हुलाक वस्तु विदेशबाट आएका थिए भने करिब ११ हजार ७०० वस्तु निर्यात भएका छन्। यसबाट करिब २९ लाख चार हजार रुपैयाँ भन्सार राजस्व सङ्कलन भएको छ।

हुलाक सेवा सुधारका यी प्रयासहरूले सेवाग्राहीलाई सहजता प्रदान गर्नुका साथै कार्यालयको कार्यक्षमता र राजस्व सङ्कलनमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यो समाचारमा

काठमाडौँनेपाल नागरिक उड्डयन प्राधिकरणत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भक्तपुरको गेष्ट हाउसमा १८ वर्षीया किशोरीको शंकास्पद मृत्यु

    काठमाडौं । भक्तपुर नगरपालिका–१, दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी १८ वर्षीया किशोरी सलिना श्रेष्ठको शंकास्पद मृत्यु भएको छ। दोलखाको भीमेश्वर नगरपालिका–९ घर भई हाल चाँगुनारायण–९, टेडोल बस्दै आएकी सलिना सोमबार बिहान मृत फेला परेकी हुन्।प्रहरीका अनुसार सलिना आइतबार राति करिब १० बजे अन्य चार जना साथीहरूसँग गेष्ट हाउस पुगेकी थिइन्।

    Data is loading...

    Loading brands...

    Loading footer...