काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दिने वा नदिनेबारे आन्तरिक छलफलपछि निर्णय गर्ने जनाएको छ। सभामुख निर्वाचनका लागि शुक्रबार दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ।
एमालेका सांसद ऐन महरका अनुसार विपक्षी दलहरूबाट उम्मेदवारी दर्ता भएमा एमालेले समर्थन गर्ने, तर विपक्षीबाट कोही उम्मेदवार नआए एमाले आफैँले उम्मेदवारी दिने तयारीमा रहेको छ। यस विषयमा अन्तिम निर्णय पार्टी सचिवालय बैठकले गर्ने बताइएको छ।
एमालेले उम्मेदवारी दिने निर्णय गरेमा पार्टी उपाध्यक्ष गुरु बराललाई सभामुखको उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेको छ।
यता नेपाली काँग्रेसलगायत अन्य दलहरूले भने सभामुख पदबारे हालसम्म कुनै ठोस छलफल नगरेको जनाएका छन्।
यसैबीच सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डीपी अर्याललाई सभामुखका लागि उम्मेदवारका रूपमा अघि सारेको छ। संसद्को अंकगणितअनुसार अर्यालको जित सुनिश्चितजस्तै देखिएको छ।