काठमाडौँ।
यो साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ५.८२ अङ्कले बढेर २,७८२.१८ बिन्दुमा पुगेको हो।
आज कुल ३२८ कम्पनीका २ करोड १३ लाख १८ हजार ९२९ कित्ता शेयर १ लाख ३ हजार २२५ पटक खरिदबिक्री हुँदा ८ अर्ब ८१ करोड ९७ लाख २३ हजार ३३५ रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।
समूहगत सूचकहरूमा मिश्रित कारोबार देखिएको छ। बैंकिङ, वित्त, जीवन बिमा, लघुवित्त, निर्जीवन बिमा र अन्य समूहका उपसूचकमा सामान्य गिरावट आएको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र व्यापार समूहमा वृद्धि देखिएको छ।
कारोबारमा रिलायन्स स्पिनिङ मिल्स, रिजलाइन इनर्जी र सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यता, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ३.०६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल लिमिटेड अग्रस्थानमा रह्यो, जसको ५ करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यस्तै, कारोबार भएका कित्ताका आधारमा कुमारी बैंक लिमिटेडको सबैभन्दा बढी १० लाख ७९ हजारभन्दा बढी कित्ता शेयर किनबेच भएको छ।