काठमाडौँ ।
जुम्लाका प्रतिनिधि सभा सदस्य तथा राप्रपा नेपालका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सोमबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भेट गरी कर्णाली प्रदेशको विकास र नीतिगत समस्याबारे ब्रिफिङ गरेका छन्। सिंहदरबारमा भएको भेटका क्रममा शाहीले कर्णाली र जुम्लाको समग्र विकासका लागि ९ बुँदे मागपत्र समेत बुझाएका छन्।
छलफलका क्रममा शाहीले कर्णाली राजमार्गको स्तरोन्नति, स्वास्थ्य बीमा, मातृ-शिशु पोषण, दैलेख पेट्रोलियम अनुसन्धान र अलपत्र सडक आयोजनाका ठेकेदारहरूलाई कारबाही गर्नुपर्ने विषयमा विशेष जोड दिए। उनले विगतमा जस्तो बजेटका लागि संसदमा पुस्तिका च्यात्नुपर्ने अवस्था नआओस् भन्दै कर्णालीलाई उपेक्षा नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।
जवाफमा प्रधानमन्त्री शाहले विगतमा जेजस्तो भए पनि अब कर्णाली प्रदेशलाई विकास निर्माणमा कुनै विभेद नगर्ने प्रतिबद्धता जनाए। "बजेटमा कर्णालीलाई विभेद हुँदैन, न्याय नै हुन्छ," प्रधानमन्त्रीले आश्वासन दिए। करिब ४५ मिनेट चलेको उक्त छलफलमा प्रधानमन्त्रीले सांसदहरूका कुरा सुनेपछि थप समन्वयका लागि आफ्नो सचिवालयमा सम्पर्क गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री बालेनले हाल विभिन्न प्रदेशका सांसदहरूसँग चरणबद्ध रूपमा क्षेत्रीय समस्या र समाधानका उपायबारे छलफल गरिरहेका छन्।