काठमाडौँ
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि नेपाली काँग्रेसभित्र समानान्तर गतिविधि सुरु भएको छ। लेखकलाई पक्राउ गरिएको घटनापछि पार्टीभित्र विभिन्न समूहका फरक–फरक विज्ञप्ति जारी भएपछि आन्तरिक विवाद सतहमा आएको हो।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा गृह मन्त्रालय सम्हालेका लेखकलाई प्रहरीले शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरेको थियो। उनलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न अत्यन्त जरुरी पक्राउ पुर्जी जारी गरेर नियन्त्रणमा लिइएको जनाइएको छ।
लेखक पक्राउपछि कांग्रेसका विभिन्न समूहबाट अलग–अलग धारणा सार्वजनिक भएका छन्। संस्थापन पक्षका तर्फबाट प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गरेका छन् भने १४ औँ महाधिवेशनपछि सभापति समूह र डा. शेखर कोइराला समूहबाट नेता पूर्णबहादुर खड्काको नाममा पनि छुट्टै विज्ञप्ति आएको छ।
खड्काको विज्ञप्तिमा आफूलाई कार्यवाहक सभापति उल्लेख गर्दै पार्टीको लेटरप्याड प्रयोग गरिएको छ। उक्त विज्ञप्तिमा लेखकको पक्राउको विरोध गर्दै सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ। यसले पार्टीभित्र समानान्तर गतिविधि र नेतृत्व विवाद सतहमा ल्याएको छ।
यसैबीच संस्थापन पक्षले उक्त विज्ञप्ति र लेटरप्याड प्रयोगबारे आन्तरिक छलफल गर्ने तयारी गरेको छ। कांग्रेस प्रवक्ता चालिसेले नेताहरूबीच अनौपचारिक छलफल भइरहेको पुष्टि गरेका छन्, तर विस्तृत विषय खुलाएका छैनन्।
कांग्रेसभित्र नेतृत्व र आधिकारिकताको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीभित्र फरक–फरक गतिविधि देखिनु संगठनात्मक एकतामाथि प्रश्न उठाएको नेताहरूको भनाइ छ। केही नेताहरूले यस घटनाले पार्टीभित्र विश्वासको संकट थप गहिरो बनाउन सक्ने बताएका छन्।