काठमाडौँ।
नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले 'जेन्जी आन्दोलन' का घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै उनले प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी भएको बताएका छन्।
गत भदौ २३ र २४ गते भएको युवा आन्दोलनका घटनाबारे छानबिन गरी गौरीबहादुर कार्की नेतृत्वको आयोगले यसै वर्षको फागुन २४ गते सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। तर, हालसम्म उक्त प्रतिवेदन सार्वजनिक गरिएको छैन।
महामन्त्री पौडेलले प्रतिवेदन गुपचुप राखिनुलाई 'विडम्बना' को संज्ञा दिँदै यसले अनेक आशङ्का जन्माएको उल्लेख गरेका छन्। उनले प्रश्न गरेका छन्, "कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो? यो किन सार्वजनिक गरिँदैन?" उनले यसअघिका आयोगका प्रतिवेदनजस्तै यसलाई पनि दराजमा थन्काउन नहुनेमा जोड दिएका छन्।