काठमाडौँ।
जेनजी मुभमेन्ट अलायन्सले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न र सरकारले गरेका पछिल्ला राजनीतिक नियुक्तिहरू खारेज गर्न माग गर्दै सोमबार माइतीघर मण्डलामा मौन विरोध प्रदर्शन गरेको छ।
बिहान ११ बजेदेखि सुरु भएको प्रदर्शनमा सहभागीहरूले आँखामा कालो पट्टी बाँधेर सरकारको कार्यशैलीप्रति सांकेतिक विरोध जनाएका थिए। अलायन्सले विशेषगरी गौरी बहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा गरिएको नियुक्ति तत्काल खारेज हुनुपर्ने माग राखेको छ।

सरकारले अपारदर्शी र कृपावादी ढङ्गले आफ्ना निकट व्यक्तिहरूलाई नियुक्ति दिएको आरोप लगाउँदै अलायन्सले यस्ता निर्णयहरू नसच्चिएसम्म दबाबमूलक कार्यक्रम जारी राख्ने चेतावनी दिएको छ। प्रधानमन्त्रीका स्वकीयलाई दिइएको जिम्मेवारीप्रति पछिल्लो समय चौतर्फी आलोचना भइरहेको छ।




