राजनीतिक परकम्पपछिको नयाँ सरकारका लागि गृहकार्यमन रास्वपा, कस्तो होला नयाँ मन्त्रिमण्डल!

Author

प्रियंका दुतराज

२०८२ फागुन २९, शुक्रबार

55
Share
Featured

काठमाडौँ

नेपालको संसदीय इतिहासमा एउटा ठूलो राजनीतिक परकम्प गएको छ । परम्परागत शक्तिहरूलाई किनारा लगाउँदै प्रतिनिधि सभा निर्वाचनमा झण्डै दुई तिहाइ प्राप्त गरेको छ । यो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लागिे ऐतिहासिक सफलता हो । तसर्थ, यो विजयसँगै अब सबैको चासो एउटै प्रश्नमा अडिएको छ— भावी प्रधानमन्त्रीका रूपमा हेरिएका बालेन्द्र शाह (बालेन) को मन्त्रिमण्डल कस्तो बन्ला?

सिंहदरवारको बागडोर सम्हाल्ने अन्तिम तयारीमा रहेका बालेन यतिबेला आफ्नो ‘ड्रिम टिम’ तयार गर्न व्यस्त छन् । यो सरकार केवल सत्ता परिवर्तन मात्र नभई, कार्यशैली र शासकीय स्वरूपमै आमूल परिवर्तनको एउटा परीक्षण हुने देखिएको छ ।

पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनलाई लिएर अनेकौँ अड्कलबाजी भइरहँदा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)बीच एउटा स्पष्ट ‘पावर सेयरिङ’ भएको बुझिएको छ । स्रोतका अनुसार बालेनले लामिछानेलाई स्पष्ट शब्दमा भनेका छन्, “तपाईं पार्टी संगठन र संसद सम्हाल्नुस्, मलाई परिणाम दिने गरी सरकार चलाउन पूर्ण स्वतन्त्रता दिनुस्।” जनताले रास्वपालाई दिएको मत ‘डेलिभरी’ का लागि भएको बुझेका लामिछाने पनि यसमा सकारात्मक देखिएका छन् । यसले के संकेत गर्छ भने, आगामी क्याबिनेटमा मन्त्रीहरूको छनोटमा प्रधानमन्त्री बालेनको एकल र निर्णायक भूमिका रहनेछ ।


रास्वपाले आफ्नो चुनावी बाचापत्रमा उल्लेख गरेअनुसार हालको २२ वटा मन्त्रालयको भद्दा संरचनालाई घटाएर १५ देखि १८ मा झार्ने गृहकार्य सुरु गरेको छ । प्रशासनिक खर्च कटौती गर्ने र निर्णय प्रक्रियालाई छिटो बनाउने उद्देश्यले समान प्रकृतिका मन्त्रालयहरू गाभिनेछन् । 

बालेनको चाहना संसद् बाहिरका विज्ञहरूलाई मन्त्री बनाउने भए तापनि संवैधानिक जटिलता (गैरसांसद मन्त्री ६ महिनाभन्दा बढी रहन नपाउने) का कारण उनले हाललाई ‘विज्ञ सांसद’ हरूलाई नै प्राथमिकता दिने भएका छन्। १५ सदस्यीय हुने अनुमान गरिएको यो क्याबिनेटमा युवा ऊर्जा र प्राविधिक दक्षताको मिश्रण देखिनेछ ।

बालेन शैलीको सम्भावित मन्त्रिमण्डल कस्तो होला ? 

नयाँ सरकारमा सबैभन्दा बढी चासो अर्थ र गृहमन्त्रालयमा छ । अर्थ मन्त्रालयका लागि डा. स्वर्णिम वाग्लेको नाम सबैभन्दा अगाडि छ । सभापति लामिछानेले सार्वजनिक रूपमै वाग्लेलाई बजेटको खाका कोर्न निर्देशन दिइसकेका छन् । यद्यपि, बालेनले प्युठानबाट निर्वाचित युवा अर्थशास्त्री सुशान्त वैदिकलाई पनि एक ‘टेक्नोक्य्राटिक’ अनुहारका रूपमा विकल्पमा राखेका छन् । 

गृह मन्त्रलयमा भने रोचक प्रतिस्पर्धा देखिएको छ । पार्टीका उपसभापति डोल प्रसाद अर्यालको अनुभवलाई उपयोग गर्ने कि बालेनका विश्वासपात्र एवं इन्जिनियर सुनिल लम्साललाई जिम्मेवारी दिने भन्नेमा छलफल जारी छ । बालेनले काठमाडौँ महानगरमा आफूसँगै काम गरेका लम्साललाई गृह वा भौतिक पूर्वाधार जस्तो महत्त्वपूर्ण मन्त्रालय सुम्पिएर आफ्नो कार्ययोजना कार्यान्वयन गर्न चाहेका छन् । परराष्ट्र मन्त्रालयमा रास्वपाका विदेश विभाग प्रमुख शिशिर खनालको सम्भावना बलियो छ । अन्तर्राष्ट्रिय सम्बन्धमा उनको दख्खल र बालेन–रविबीचको समन्वयकारी भूमिकाले उनलाई यो पदको हकदार बनाएको छ । सरकारको प्रवक्ता र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि काठमाडौँ–५ बाट निर्वाचित सस्मित पोखरेलको नाम चर्चामा छ। मिडियासँगको परिपक्व संवाद र कूटनीतिक शैलीका कारण उनी बालेनको रोजाइमा परेका हुन् ।

त्यस्तै, कानुन मन्त्रालयमा सोविता गौतम, स्वास्थ्यमा डा. लेखजंग थापा वा डा. तोसिमा कार्की र महिला तथा बालबालिका मन्त्रालयमा इन्दिरा राना मगरको नाम करिब निश्चित जस्तै छ। पर्यटन र नागरिक उड्डयनमा विराजभक्त श्रेष्ठ र युवा तथा खेलकुदमा सुदन गुरुङलाई समेट्ने योजना छ।

मधेस र कोसीको नयाँ समीकरण

बालेनले आफ्नो सरकारलाई समावेशी र क्षेत्रीय सन्तुलनयुक्त बनाउन मधेस र कोसी प्रदेशका नेताहरूलाई पनि समेट्ने प्रयास गरेका छन्। मधेसबाट अमरेश सिंह, पुरुषोत्तम यादव र बब्लु गुप्ताले मन्त्री पदमा दाबी गरिरहेका छन्। विशेषगरी गगन थापालाई पराजित गरेका अमरेश सिंहले आफूलाई मन्त्रीको बलियो दाबेदारका रूपमा प्रस्तुत गरेका छन् ।


सबैभन्दा रोचक पक्ष त, बालेनले कोसी प्रदेशबाट वैकल्पिक राजनीतिको अर्को प्रतीक बनेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई समेत सरकारमा सहभागी हुन प्रस्ताव गर्ने सम्भावना छ । साम्पाङको कार्यशैली र बालेनको भिजन मिल्ने भएकाले यो सहकार्यले नयाँ राजनीतिक सन्देश दिने सचिवालय स्रोतको दाबी छ ।

बालेन शाहको यो ‘ड्रिम टिम’ को मुख्य चुनौती भनेकै वर्षौँदेखि जकडिएको बिचौलियाको जालो तोड्नु र सरकारी सेवालाई जनताको घरदैलोसम्म पु¥याउनु हो । प्रशासनिक खर्च घटाउने, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने र विकास निर्माणमा गति दिने लक्ष्यका साथ यो टोली मैदानमा उत्रिने तयारीमा छ ।

यद्यपि, शपथ ग्रहणको अन्तिम घडीसम्म केही नामहरू हेरफेर हुन सक्ने सम्भावना कायमै छ । तर, एउटा कुरा निश्चित छ— बालेनको नेतृत्वमा बन्ने यो सरकार परम्परागत राजनीतिक भागबण्डाभन्दा धेरै टाढा, विज्ञता र परिणाममुखी कार्यशैलीमा आधारित हुनेछ । नयाँ पुस्ताको यो नेतृत्वबाट नेपाली जनताले एउटा समृद्ध र न्यायपूर्ण नेपालको सपना देख्न सुरु गरेका छन् । अबको केही दिनमा सिंहदरबारले एउटा नयाँ इतिहास लेख्नेछ ।

यो समाचारमा

गृह मन्त्रलयप्रतिनिधि सभाडोल प्रसाद अर्यालरवि लामिछाने
काठमाडौँ9 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...