काठमाडौँ।
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नं. ५ र चितवन निर्वाचन क्षेत्र नं. २ मा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच आन्तरिक चुनावी तालमेल भएको तथ्य बाहिरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू बालेन्द्र शाह (बालेन) र रवि लामिछानेलाई रोक्न दुई ठूला दलले एकअर्काका उम्मेदवारलाई सघाउने रणनीति बनाएको बुझिएको छ।
झापा–५ मा एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली र बालेन शाहबीच तीव्र प्रतिस्पर्धा देखिएपछि ओलीलाई सुरक्षित गर्न कांग्रेसले सघाउने र बदलामा चितवन–२ मा कांग्रेस उम्मेदवार मीनाकुमारी खरेललाई एमालेले सघाउने सहमति भएको हो।

चितवन–२ का एमाले उम्मेदवार अस्मिन घिमिरेले अध्यक्ष ओलीको निर्देशनपछि आफू निष्क्रिय बसेर कांग्रेस उम्मेदवार खरेललाई सघाएको पुष्टि गरेका छन्। घिमिरेका अनुसार ओलीले झापाको स्थिति जोखिमपूर्ण रहेको भन्दै चितवनमा एमालेको मत कांग्रेसलाई खसाल्न निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार एमाले कार्यकर्ताहरूले प्रत्यक्षतर्फ कांग्रेसको चुनाव चिह्न 'रुख' मा मतदान गरेको स्थानीय नेताहरूले दाबी गरेका छन्। रास्वपाका दुई प्रभावशाली नेताहरूलाई पराजित गर्न ठूला दलले अन्तिम समयमा यस्तो 'अघोषित' तालमेल गरेका हुन्।