काठमाडौँ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पूँजी बजारको डिजिटल पूर्वाधारलाई सुरक्षित र विश्वसनीय बनाउन ब्रोकर कम्पनीहरूका लागि सूचना प्रविधि (आईटी) अडिट अनिवार्य गरेको छ। नेप्सेले ‘आईटी अडिट गाइडलाइन्स–२०२६’ जारी गर्दै सबै ब्रोकरले प्रत्येक दुई वर्षमा कम्तीमा एक पटक आईटी अडिट गराउनुपर्ने व्यवस्था लागू गरेको हो।
नयाँ प्रावधानअनुसार नयाँ ब्रोकर कम्पनीले कारोबार सुरु गरेको ६ महिनाभित्रै पहिलो अडिट सम्पन्न गर्नुपर्नेछ। यो अडिट मान्यताप्राप्त आईटी विज्ञ वा अडिट फर्ममार्फत गराई त्यसको प्रतिवेदन नेप्सेमा बुझाउनुपर्नेछ। अडिटको दायरामा ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस), ब्याक अफिस सफ्टवेयर, ग्राहकको डेटा व्यवस्थापन, सर्भर, वेबसाइट र मोबाइल एप लगायतका सम्पूर्ण डिजिटल संरचनाहरू पर्नेछन्।
नेप्सेले अनलाइन कारोबारको विस्तारसँगै बढ्दो साइबर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै यो कदम चालेको जनाएको छ। अडिटका क्रममा डेटा ब्याकअप, फायरवाल, इन्क्रिप्सन र साइबर सुरक्षा नीतिको प्रभावकारिता समेत अनिवार्य रूपमा परीक्षण गरिनेछ। निर्देशिका उल्लंघन गर्ने वा अडिट नगराउने ब्रोकर कम्पनीहरूमाथि कारबाही गरिने नेप्सेले चेतावनी दिएको छ।