काठमाडौँ।
काठमाडौंको तारकेश्वर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरू निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवारका लागि भोट माग्न घरदैलोमा व्यस्त देखिएका छन्। नगरपालिकाको काममा खटिनुपर्ने नगरप्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सिर्जना बुर्लाकोटी, विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरू दलीय प्रचारप्रसार र र्यालीमा सहभागी भइरहेका हुन्।
स्थानीय तहका पदाधिकारीले यसरी कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न नपाउने कानुनी व्यवस्था भए पनि तारकेश्वरमा यसको खुला उल्लंघन भइरहेको छ। जनप्रतिनिधि मात्र नभई विद्यालयका शिक्षक र महिला स्वास्थ्य स्वयंसेविकाहरू समेत अमुक पार्टीको झण्डा बोकेर भोट माग्न हिँडेको पाइएको छ।

स्थानीय बासिन्दाले नगरपालिकाको सेवा प्रवाह प्रभावित पारेर जनप्रतिनिधिहरू व्यक्तिगत र दलीय स्वार्थमा लागेको भन्दै आक्रोश व्यक्त गरेका छन्। "जनताको काम गर्न निर्वाचित भएकाहरू पार्टीको झण्डा बोकेर हिँड्नु नैतिक र कानुनी रूपमा गलत हो," एक स्थानीयले सजिलो पत्रिकालाइ बताए ।
यति ठूलो संख्यामा आचारसंहिता उल्लंघन हुँदा पनि निर्वाचन आयोग भने 'लाचार' र मूकदर्शक देखिएको छ। आयोगले प्रभावकारी अनुगमन र कारबाही नगर्दा तारकेश्वरमा चुनावी मर्यादाको धज्जी उडाइएको भन्दै स्थानीयले प्रश्न उठाएका छन्।