काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले मुलुकलाई अस्थिरता र संकटबाट बचाउन आगामी निर्वाचनमा एमालेको जित अनिवार्य रहेको बताएका छन्। प्रेस चौतारीले दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले देश 'मियो विनाको दाईँ' बन्ने खतरा रहेको भन्दै त्यसलाई रोक्न एमाले र अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको नेतृत्व आवश्यक रहेको दाबी गरे।
बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै भट्टराईले उनीहरूले देशलाई 'जुवाको अखडा' बनाउन खोजेको आरोप लगाए। "चुनावमा आएका कतिपय पात्रहरूको उद्देश्य केवल आफ्नो फाइदा मात्र हो, उनीहरू जिते छाति पिट्ने र हारे निराश हुने बाहेक केही गर्दैनन्," उनले भने।
भट्टराईले 'जेनजी आन्दोलन' का क्रममा भएको क्षतिको दोष जबर्जस्त एमालेमाथि थुपार्न खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले देश र आन्दोलन ध्वस्त बनाउने कार्यमा संलग्नहरू कुन नैतिकताले उम्मेदवार बनेका हुन् भन्दै प्रश्न समेत गरे।