काठमाडौँ।
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्युपछि इरान सरकारले ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। आइतबार बिहान आफ्नै कार्यकक्षमा रहेका बेला अमेरिका र इजरायलको संयुक्त आक्रमणमा परी उनको मृत्यु भएको हो। शिया इस्लाम परम्पराअनुसार मृत्युको ४०औँ दिनलाई पवित्र मानिने भएकाले सो अवधिसम्म शोक मनाउने निर्णय गरिएको छ।
सन् १९८९ देखि ३७ वर्षसम्म इरानको नेतृत्व गरेका खामेनीको निधनसँगै एउटा लामो राजनीतिक अध्याय समाप्त भएको छ। इजरायली सञ्चारमाध्यमका अनुसार सोही आक्रमणमा खामेनीकी छोरी, नाति, बुहारी र ज्वाइँको पनि मृत्यु भएको छ।
खामेनीको मृत्युपछि विश्वभरबाट विभिन्न प्रतिक्रिया आएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले यसलाई 'इरानी जनताका लागि न्याय' को संज्ञा दिँदै लक्षित आक्रमण जारी रहने चेतावनी दिएका छन्। इरानभित्रै पनि मिश्रित प्रतिक्रिया देखिएको छ; केही स्थानमा शासनविरुद्ध खुसीयाली मनाइएको छ भने सरकारी स्तरमा झण्डा आधा झुकाएर श्रद्धाञ्जली सभाहरू आयोजना गरिँदैछ। खामेनीको उत्तराधिकारी चयन प्रक्रिया अब इरानका लागि ठूलो राजनीतिक चुनौती बन्ने देखिएको छ।