काठमाडौँ।
नियमित ट्राफिक प्रहरीहरूलाई निर्वाचन सुरक्षाका लागि उपत्यकाबाहिर खटाइएपछि काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनमा चुनौती देखिएको छ। जनशक्ति अभावका कारण बढ्दो सवारी जाम नियन्त्रण गर्न अहिले निर्वाचन सुरक्षामा खटिएका प्रहरीहरूलाई पनि सडकमा परिचालन गरिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीका अनुसार निर्वाचन नजिकिएसँगै ठूलो सङ्ख्यामा ट्राफिक प्रहरीहरू जिल्ला खटिएकाले उपत्यकामा जनशक्ति कम देखिएको हो। यो अभावलाई पूर्ति गर्न हाल निर्वाचन प्रहरीहरूलाई विभिन्न चोकमा ट्राफिक प्रहरीसँगै खटाइएको छ। उनीहरूले सवारी अनुशासन कायम गराउने, जाम खुलाउने र यात्रुहरूको आवागमन सहज बनाउन सक्रिय भूमिका खेलिरहेका छन्। विशेषगरी कार्यालय समयमा हुने अत्यधिक जाम नियन्त्रणमा उनीहरूको सहयोग लिइएको ट्राफिक कार्यालयले जनाएको छ।