काठमाडौँ।
आसन्न प्रतिनिधि सभा निर्वाचनले देश निर्वाचनमय भइरहेको बेला यतिबेला काठमाडौँ क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। काठमाडौँका १० वटा निर्वाचन क्षेत्रमध्ये यो क्षेत्र सबैभन्दा बढी चर्चा र चासोको केन्द्रमा छ। विगत तीन चुनाव जितेर बलियो पकड जमाएका नेपाली काँग्रेसका नेता गगन थापा यस पटक सर्लाही झरेपछि यहाँको चुनावी समीकरण रोचक बनेको छ। यस्तो अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बनेका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र राज भण्डारी एक ’बौद्धिक विकल्प’ का रूपमा चर्चामा छन्।

परम्परागत राजनीतिक शक्तिहरूप्रतिको बढ्दो वितृष्णाका कारण पनि धेरैले उनलाई आशाको नजरले हेरेका छन्। यद्यपि, दशकौँदेखि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को वर्चस्व रहेको यस क्षेत्रमा यो पटक बहुपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
को हुन् डा. सुरेन्द्र भण्डारी?
डा. सुरेन्द्र भण्डारी केवल एक राजनीतिक उम्मेदवार मात्र नभई नेपालको कानुनी र संवैधानिक क्षेत्रका एक सम्मानित व्यक्तित्व हुन्। वरिष्ठ अधिवक्ताका रूपमा लामो अनुभव सँगालेका भण्डारीले ’ल एसोसिएट्स नेपाल’ मार्फत कानुनी सेवा प्रदान गर्दै आएका छन्। उनले जापानको रित्सुमेइकान विश्वविद्यालयमा सह–प्राध्यापकको रूपमा काम गरिसकेका छन् भने नेपालको संविधान निर्माण प्रक्रियामा गहन अनुसन्धान गरेका छन्। उनको यो बौद्धिक पृष्ठभूमिले उनलाई संसद्मा कानुन निर्माण र नीतिगत बहसमा एक योग्य उम्मेदवारका रूपमा उभ्याएको छ।
डा. भण्डारीले “नागरिकतन्त्र“ को नाराका साथ अहिलेको निर्वाचनलाई केवल एक सिटको लडाइँ मात्र नभई दुई विचारधारा बीचको सङ्घर्षका रूपमा व्याख्या गरिरहेका छन्। उनी भन्छन्, “एकातिर गणतन्त्रलाई नै अन्तिम गन्तव्य मान्ने शक्तिहरू छन् भने अर्कोतिर हामी राजसंस्थासहितको लोकतन्त्र खोजिरहेका छौँ।“ उनले वर्तमान व्यवस्थामा देखिएका भ्रष्टाचार र बेथिति नै युवा निराशाको मुख्य कारण भएको दाबी गर्दै आएका छन्।

संसद्मा ’मौन’ मुद्दा र स्थानीय समस्या
डा. भण्डारीले शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत विषयमा संसद्मा पर्याप्त बहस नभएको भन्दै प्रश्न उठाएका छन्। काठमाडौँ–४ का मतदाताहरू वर्षौँदेखि ढल व्यवस्थापन, खानेपानी अभाव र अव्यवस्थित सहरीकरणबाट पीडित छन्। उनले गगन थापाको कार्यकालमा यी समस्या किन समाधान भएनन् भनी प्रश्न उठाउँदै आफूले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर ठोस काम गर्ने प्रतिबद्धता जनाएका छन्। यद्यपि, डा. भण्डारी पनि विवादबाट पूर्णतः मुक्त भने छैनन्। निर्वाचन आयोगले उनलाई केही समुदायप्रति ठेस पुग्ने अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको थियो, जसको प्रक्रिया अझै जारी छ।
यस्ता चुनौति : स्थापित दल र नयाँ शक्तिको दबाब
डा.भण्डारीका लागि यो चुनावी यात्रा निकै चुनौतीपूर्ण छ । यता नेपाली कांग्रेस सचिन तिमल्सिना गगन थापाले बनाएको बलियो संगठन र विरासत जोगाउने जिम्मेवारी उनीमाथि छ । नेकपा एमाले राजन भट्टराई दुई पटक झिनो मतान्तरले पराजित भएका भट्टराई यस पटक तेस्रो प्रयासमा छन्। त्यस्तै, अघिल्लो निर्वाचनमा ’नयाँ लहर’ सिर्जना गरेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम छन्।
डा. भण्डारीको कानुनी विशेषज्ञता, निडर व्यक्तित्व र स्पष्ट भिजन उनका सबल पक्ष हुन्। तर, काठमाडौँ ४ का ७६ हजार मतदाताले यसपटक परम्परागत राजनीतिको बाटो मोडेर उनलाई संसद् पठाउलान् वा पुरानै शक्तिमाथि विश्वास गर्लान? यसको छिनोफानो आगामी फागुन २१ गतेको मतदानले नै गर्नेछ।