काठमाडौँ।
नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ले आगामी निर्वाचनपछि बन्ने नयाँ सरकारमा आफ्नो पार्टीको भूमिका निकै महत्त्वपूर्ण र निर्णायक रहने दाबी गरेका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एमाले निकट मुक्ति समाज दोलखाका नेता तथा कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै उनले यस्तो बताएका हुन्।
प्रचण्डले आगामी निर्वाचनमा अधिकांश क्षेत्रमा नेकपाको जित सुनिश्चित रहेको जिकिर गर्दै सबै नेता-कार्यकर्ताले मेहनत गरेमा नेकपा देशकै पहिलो पार्टी बन्ने विश्वास व्यक्त गरे। उनले नेकपाको गठनसँगै मुलुकमा राजनीतिक ध्रुवीकरणको नयाँ माहोल बनेको उल्लेख गरे।
एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको कार्यशैलीप्रति सोही पार्टीभित्रै तीव्र असन्तुष्टि रहेको दाबी गर्दै प्रचण्डले एमालेकै नेता-कार्यकर्ताले फेरि एकताको झन्डा उठाउन सहयोग गर्ने र सबै वामपन्थीहरू एकै ठाउँमा आउने धारणा राखे। उनले देशमा वाम आन्दोलनलाई सशक्त बनाउन सबै क्रान्तिकारी कम्युनिस्टहरू एकजुट हुनुपर्नेमा जोड दिए।