काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)की निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन्। सिराहाको गोलबजारमा आयोजित एक विशेष कार्यक्रमका बीच थपलियासहित एमालेका अन्य नेता तथा कार्यकर्ताहरू रास्वपामा भित्रिएका हुन्। उनीहरूलाई रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले पार्टीमा स्वागत गरे।
थपलिया २०७९ को निर्वाचनमा एमालेबाट खस आर्यतर्फकी समानुपातिक सांसद बनेकी थिइन्। लामो समय एमालेमा सक्रिय रहेकी उनले सिराहा एमालेमा 'परिवारवाद' हाबी भएको र पुराना कार्यकर्ताको उचित मूल्याङ्कन नभएको आरोप लगाउँदै केही समयअघि मात्रै पार्टी परित्यागको घोषणा गरेकी थिइन्। निर्वाचनको मुखमा प्रभावशाली नेतृले पार्टी छाडेर रास्वपा रोजेपछि सिराहामा एमालेको चुनावी अभियानमा धक्का पुगेको छ।