काठमाडौँ ।
आगामी निर्वाचनको सरगर्मी बढिरहेका बेला दोलखाको मेलुङमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लाई ठूलो धक्का लागेको छ। नेकपा एस निकट युवा संघ दोलखाका सचिव सुन्दर पौडेलको नेतृत्वमा १३ जना प्रभावशाली युवा नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा फर्किएका छन्।
एमालेका उम्मेदवार पार्वत गुरुङलाई विजयी गराउने अभियानमा साथ दिन उनीहरूले आफ्नो पुरानो पार्टी रोजेका हुन्। एमाले प्रवेश गर्नेहरूमा मेलुङ्ग–२ का सुन्दर पौडेल, शिखर पौडेल, शैलेन्द्र गोले, शौरभ बस्नेत, सुदेश राई, सञ्जय मगर, सञ्जीव तामाङ, प्रसन्न पौडेल र प्रमेश पौडेल रहेका छन्।
त्यसैगरी मेलुङ–३ बाट सरोज सुवेदी, मनिष भट्टराई र सुजन लामा तथा मेलुङ–४ बाट राजकुमार बम्जन एमालेमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई एमालेका नेताहरूले भव्य स्वागत गर्दै पार्टीको चुनावी अभियानमा सक्रिय हुन आग्रह गरेका छन्। प्रभावशाली युवा नेताहरूको यो प्रवेशले मेलुङ क्षेत्रमा एमालेको संगठन थप मजबुत भएको र पार्वत गुरुङको चुनावी अभियानमा थप ऊर्जा मिलेको स्थानीय नेताहरूले दाबी गरेका छन्।