काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र फागुन ३ गतेपछि मात्रै सार्वजनिक गर्ने भएको छ। पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओली गृहजिल्ला झापाबाट काठमाडौं फर्किएर घोषणापत्रको मस्यौदा अध्ययन र परिमार्जनमा जुटेकाले सार्वजनिक गर्न केही दिन ढिला हुने भएको हो।
एमाले कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार घोषणापत्र तयार गर्ने काम तीव्र रूपमा भइरहे पनि फागुन ३ भित्रै सार्वजनिक हुने सम्भावना कम छ। यसपटकको घोषणापत्रमा एमालेले 'राष्ट्रियता' लाई पहिलो प्राथमिकतामा राख्ने र अघिल्लो निर्वाचनका मुख्य प्राथमिकताहरूलाई पनि समेट्ने तयारी गरेको छ।
निर्वाचन आयोगले फागुन ३ गतेभित्रै घोषणापत्र बुझाउन निर्देशन दिएको भए पनि एमालेले केही दिन ढिलो गरी ल्याउने देखिएको छ। यता, नेपाली काँग्रेसले फागुन २ गते नै घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ भने नेपाली कम्युनिस्ट पार्टीले माघ २८ गते नै आफ्नो योजना सार्वजनिक गरिसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने अहिलेसम्म घोषणापत्र ल्याएको छैन।