काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रणय शमशेर राणाले पार्टी परित्याग गरेका छन् । उनले पार्टीको सदस्य नरहने गरी राजीनामा दिएका हुन् । उनले महामन्त्री (कविन्द्र बुर्लाकोटी)लाई सम्बोधन गरेर लिखित रुपमै पार्टी सदस्यबाट राजीनामा दिएका बताइएको छ ।
राणाले राजीनामा पत्रमा, ‘सबै बेथितिका बावजुद मुकदर्शक भएर पार्टीमै रहिरहन मेरो विवेक र इमानले नमानेका कारण आजको मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको व्यहोरा जानकारी गराउन चाहन्छु’ भनी लेखेका छन् ।
उनले आन्तरिक अभ्यास सही ढंग नगर्ने पार्टीले भोलि सरकारमा गएर उत्कृष्ट काम गर्छ भन्ने विश्वास आफूले गर्न नसक्ने र अन्धभक्ति गर्न पनि नचाहेको भनेर पत्रमा उल्लेख गरेका छन् ।
राणाले प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाले गरेको ‘प्राइमरी इलेक्सन’ प्रति असन्तुष्टि जनाउँदै आएका थिए । ‘प्राइमरी चुनावमा सधैं ५० प्रतिशत चलखेलको बाटो राखियो । अहिले आएर विशेष परिस्थितिको नाममा संगठनको आफ्नो नेतृत्व छान्ने अधिकार पनि लुटियो’, उनले लखेका छन्, ‘१००० सदस्यता शुल्कबाट ३०० पालिकामा आउने भनेको कहिल्यै आएन, प्राइमरीका प्रक्रियामात्र नभई त्यसका लागि भनी उठाइएको ठूलो रकममा पनि आर्थिक अपारदर्शिता तथा अपचलन देखियो ।’