काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को काठमाडौं मण्डिखाटारस्थित घरमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकाहरूको साथबाट चोरी भएको ल्यापटप, सीसीटीभी क्यामेरा र डिभिआर (DVR) मेसिन बरामद गरिएको छ।
झापा–५ बाट चुनावी प्रतिस्पर्धामा रहेका बालेन प्रचारका लागि सुदूरपश्चिम र उनकी पत्नी सविना काफ्ले झापा गएको मौका पारेर गत माघ १७ गते घरको ग्रिल फुटाएर चोरी भएको थियो। प्रहरीका अनुसार चोरीमा संलग्न मुख्य व्यक्ति 'जेनजी आन्दोलन' का क्रममा नख्खु कारागारबाट फरार भएका कैदी हुन्।
घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय र महाराजगञ्ज प्रहरी वृत्तको टोली अनुसन्धानमा खटिएको थियो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।