काठमाडौँ ।
झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कार्यकर्ताहरूबीच झडप भएको छ । रास्वपाका नेता बालेन्द्र शाह (बालेन)का समर्थकहरूले एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीविरुद्ध नाराबाजी गरेपछि विवाद सुरु भई झडपको अवस्था सिर्जना भएको हो ।
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न बालेनसहितको टोली निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो । सोही क्रममा दमकको गोल्चोक क्षेत्रमा दुवै पक्षका कार्यकर्ताबीच झण्डा छोइएको विषयमा विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि दुवै पक्षका युवाहरूले एकअर्कालाई लक्षित गरी ढुंगा प्रहार गरेका थिए, जसले गर्दा केहीबेर स्थिति तनावग्रस्त बनेको थियो ।
हाल स्थिति सामान्य भइसकेको र सम्भावित थप झडपलाई रोक्न निर्वाचन कार्यालय आसपासको क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।
रास्वपाका उम्मेदवार बालेनले झापा-५ बाट आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् भने एमाले अध्यक्ष ओलीले उम्मेदवारी दर्ता गराउन बाँकी छ ।