काठमाडौँ ।
विघटित प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । मधेश बलिदानी दिवसको अवसरमा सोमबार जनकपुरमा आयोजित एक कार्यक्रममा उनी औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका हुन् ।
लामो समय नेपाली काँग्रेसको राजनीति गरेका सिंहले गत निर्वाचनमा पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए । उनले आगामी निर्वाचनमा रास्वपाबाट सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
यसैगरी, मधेश प्रदेश सभामा नेपाली कम्युनिष्ट पार्टी (साविक माओवादी केन्द्र) का सांसद रहेका रहबर अन्सारी पनि रास्वपामा प्रवेश गरेका छन् । केही दिनअघि मात्रै पार्टी र सांसद पदबाट राजीनामा दिएका अन्सारीले पनि रास्वपा रोजेका हुन् ।
कार्यक्रममा बोल्दै अन्सारीले मधेशबाट पहिलोपटक बालेन शाह देशको नेतृत्वमा पुग्न लागेको भन्दै रास्वपालाई विजयी गराउन सबैलाई अपिल गरे । "अहिलेसम्म मधेशबाट कोही नेतृत्वमा पुगेका थिएनन्, यसपटक घण्टीमा भोट हालेर देखाइदिनुहोला," उनले भने ।