काठमाडौँ।
राष्ट्रिय सभाको १९औँ अधिवेशन आज (आइतबार) देखि सुरु हुँदैछ । बैठक आज बिहान ११ बजे सिंहदरवारस्थित संघीय संसद् सचिवालयमा बस्नेछ ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन 'जेनजी' आन्दोलनका क्रममा जलेर ध्वस्त भएपछि यसपटकको अधिवेशन सिंहदरबारमै सञ्चालन गर्न लागिएको हो ।
संसद् सचिवालयका अनुसार, आजको पहिलो बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् । त्यसपछि हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
गत भदौ ३१ गते १८औँ अधिवेशन अन्त्य भएको थियो । यो अधिवेशनलाई महत्वका साथ हेरिएको छ, किनकि यही माघ ११ गते राष्ट्रियसभाका १९ सदस्यका लागि निर्वाचन हुँदैछ, जसमध्ये एक जना निर्विरोध निर्वाचित भइसकेका छन् ।