काठमाडौँ ।
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सधैं चर्चामा रहने काठमाडौं निर्वाचन क्षेत्र नम्बर-१ मा अधिवक्ता कमल कोइरालाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । स्वच्छ छविका कानुन व्यवसायीका रूपमा चिनिने कोइरालाले नीति निर्माणमा प्रभावकारी भूमिका खेल्न संसदमा जान चाहेको बताएका छन् ।
पेशाले कानुन व्यवसायी कोइराला महिला, बालबालिका, वातावरण तथा सार्वजनिक सरोकारका मुद्दाहरूमा निरन्तर कानुनी खबरदारी गर्दै आएका छन् । उनी विभिन्न शैक्षिक संस्थामा समाजशास्त्र, राजनीतिशास्त्र र कानुनशास्त्रको अध्यापनमा समेत संलग्न छन् ।
संघीय तथा पालिकास्तरमा कानुन निर्माण र संशोधनमा कानुनी सल्लाहकारको भूमिका निर्वाह गरिसकेका कोइराला सामाजिक सञ्जालको चर्चित समूह 'मेन्स रुम रिलोडेड' का कानुनी सल्लाहकार पनि हुन् ।
"म नीति बनाउँछु, सरकारलाई जवाफदेही बनाउँछु र जनताको आवाज संसदसम्म पुर्याउँछु," उनले भने, "संसदको त्यो ३ मिनेट सिंगो जनताको हुनेछ ।" उनले गलत कानुन रोक्ने र राम्रो कानुनलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।