काठमाडौँ ।
सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र जनमत पार्टीसँग छलफल गर्दैछ । समितिले ती पार्टीहरूको केन्द्रीय कार्यालयमै पुगेर अनुगमन तथा छलफल गर्ने कार्यक्रम रहेको छ ।
कानुनमन्त्री अनिलकुमार सिन्हाको संयोजकत्वमा गठित समितिले आज बिहान ११ बजे जनमत, दिउँसो १ बजे राप्रपा र दिउँसो ३ बजे रास्वपाको कार्यालयमा पुगेर नेताहरूसँग भेटवार्ता गर्नेछ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन सरकारले यो समिति गठन गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन र दलहरूलाई सकारात्मक दबाब दिन सरकार आफैं दलहरूको कार्यालयमा पुगेर संवाद गरिरहेको बताए ।
"सरकार इमान्दारिताका साथ निर्वाचन गराउन खोजिरहेको छ भन्ने सन्देश दिन र दलहरूलाई पनि यसप्रति केन्द्रित गराउन यो पहल गरिएको हो," मन्त्री खरेलले भने ।
यसअघि हिजो (बुधबार) समितिले नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा पुगेर छलफल गरेको थियो ।