काठमाडौँ ।
सेयर बजारमा लगानी गर्न ठूलै रकम चाहिने सोचाइ छ भने त्यो गलत साबित हुन सक्छ । हालको बजारमा करिब १६-१७ सय रुपैयाँबाटै पनि सेयर खरिद गरेर लगानी यात्रा सुरु गर्न सकिने अवस्था छ ।
अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रतिकित्ता २०० रुपैयाँभन्दा कम मूल्यमा सेयर पाइने करिब एक दर्जन कम्पनीहरू छन् । तीमध्ये शिवश्री हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावर सबैभन्दा सस्ता कम्पनीमा पर्छन् ।
शिवश्री हाइड्रोपावर:
हाल यो कम्पनीको प्रतिकित्ता सेयर मूल्य १५५ रुपैयाँ छ । सामान्यतया १० कित्ता सेयर किन्नुपर्ने हुँदा ब्रोकर कमिसनसहित करिब १६-१७ सय रुपैयाँमा यसको सेयरधनी बन्न सकिन्छ । कम्पनीले हालै हकप्रद सेयर जारी गरेकाले यसको मूल्य समायोजन भएको हो ।
हिमाल दोलखा हाइड्रो:
यो कम्पनीको सेयर प्रतिकित्ता १७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसको १० कित्ता सेयर किन्न करिब १८-१९ सय रुपैयाँ भए पुग्छ ।
लगानीकर्तालाई सुझाव:
यद्यपि, सेयर मूल्य सस्तो भएकै आधारमा अन्धाधुन्ध लगानी गर्नु जोखिमपूर्ण हुन्छ । लगानी गर्नुअघि कम्पनीको वित्तीय अवस्था, विगतको मूल्य प्रवृत्ति, ऋणको अवस्था, प्रतिसेयर आम्दानी र भविष्यको योजनाबारे राम्ररी अध्ययन गर्न विज्ञहरू सुझाव दिन्छन् । यी दुवै कम्पनी हाल सञ्चित नोक्सानीमा रहेकाले लगानी गर्दा विशेष ध्यान पुर्याउनु आवश्यक छ ।