काठमाडौँ
क्यानडा र संयुक्त राज्य अमेरिकाबीच करिब एक शताब्दीदेखि चल्दै आएको म्याकियास सियल टापुको भू–सीमा विवाद फेरि चर्चामा आएको छ। क्यानडाका सेनेटर जिम क्विनले अमेरिकी नौकायन समूह बोल्ड कोस्ट चार्टर कम्पनीले टापुलाई “मेनको तट” को हिस्सा भनेर उल्लेख गरेकोप्रति आपत्ति जनाउँदै ओटावाले आफ्नो सार्वभौमिकता कत्तिको दृढतापूर्वक प्रस्तुत गरिरहेको छ भन्ने प्रश्न उठाएका छन्। उनले क्यानडाले यस्तो समूहलाई अनुमति किन दिन्छ भन्नेबारे सरकारसँग स्पष्टिकरण मागेका छन्।
म्याकियास सियल टापु क्यानाडाको न्यु ब्रन्सविक र अमेरिकाको मेन राज्य बीच पर्ने "ग्रे जोन" मा अवस्थित एक सानाे, निर्जन र कठोर भू–भाग हो। यो प्रवासी चराहरूको महत्वपूर्ण आश्रयस्थल हो र हजारौँ पफिनहरूको बासस्थानका रूपमा चिनिन्छ। यहाँ सन् १८३२ मा क्यानडाद्वारा बनाइएको लाइटहाउसमा क्यानडियन कोस्ट गार्डका कर्मचारीहरू पालो–पारी बसोबास गर्छन्।
क्यानडाले टापु भ्रमणका लागि दुई समूहलाई अनुमति दिएको छ—सीवाच टुर्स (क्यानडा) र बोल्ड कोस्ट(अमेरिका)। तर बोल्ड कोस्टले आफ्नो वेबसाइटमा टापुलाई “मेनको तटको सबैभन्दा ठूलो पफिन बस्ती” भनेर उल्लेख गर्दा क्यानडेली पक्षले यसलाई आफ्नो सार्वभौमिकतामा चोट पुगेको रूपमा लिएको छ। दुवै देशले टापुमाथि अधिकार दाबी गर्दै आएका छन्, र १९८४ को अन्तर्राष्ट्रिय निर्णयले टापु वरपर माछा मार्ने अधिकार दुवैलाई दिएको छ।
अमेरिकाबाट लगाइएका शुल्क, विशेषतः डोनाल्ड जोन ट्रम्प प्रशासनका नीतिहरू, र क्यानडालाई "५१औँ राज्य" जस्ता टिप्पणीहरूले द्विपक्षीय सम्बन्धमा थप तनाव उत्पन्न गरेको सन्दर्भमा सेनेटर क्विनले क्यानडाले म्याकियास सियल टापुमाथि आफ्नो दाबी अझ प्रस्ट र कडाइका साथ प्रस्तुत गर्नुपर्ने तर्क गरेका छन्। उनको भनाइमा, “हाम्रा दक्षिणी छिमेकीहरूसँग हालको परिस्थिति हेर्दा यस्तो संवेदनशील सीमाक्षेत्रमा उदासीन रहनु आजको दिनमा अस्वीकार्य छ।”