काठमाडौँ।
राजधानी काठमाडौं भित्रिने र बाहिरिने मुख्य मार्ग नागढुङ्गा–मलेखु सडक खण्ड पर्सि (मंसिर २४ गते) बुधबारदेखि एक साताका लागि आंशिक रूपमा बन्द हुने भएको छ । सडक कालोपत्र गरी स्तरोन्नति गर्ने कामलाई तीव्रता दिन दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गर्न लागिएको हो ।
नागढुङ्गा–मुग्लिन सडक आयोजनाका अनुसार मंसिर २४ गतेदेखि पुस १ गतेसम्म हरेक दिन बिहान १०:३० बजेदेखि दिउँसो ३:३० बजेसम्म सडक बन्द रहनेछ । यो नियम काठमाडौंको नागढुङ्गादेखि पिप्लामोडसम्म र धादिङको जोखिमपूर्ण मानिएको पोखरेभिर क्षेत्रमा लागू हुनेछ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र धादिङले संयुक्त रूपमा सूचना जारी गर्दै उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गर्न वा आफ्नो यात्रा तालिका परिवर्तन गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।
वैकल्पिक मार्ग कुन-कुन ?
अत्यावश्यक अवस्थामा साना तथा मझौला सवारी साधनका लागि निम्न वैकल्पिक मार्गहरू सुझाइएको छ:
- सीतापाईला–भिमढुङ्गा–रामकोट–धार्के
- सामाखुसी–टोखा–छहरे–त्रिशूली–गल्छी हुँदै जरेखेतबाट घाटबेसी
एम्बुलेन्स, सुरक्षा निकायका गाडी, दमकल, शव वाहन जस्ता अत्यावश्यक सेवाका सवारी साधनलाई भने ट्राफिक प्रहरीले सहजीकरण गर्ने सूचनामा उल्लेख छ ।
