काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आइतबार औपचारिक रूपमा एकता घोषणा हुँदैछ ।रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, दिउँसो राष्ट्रिय सभागृहमा एक विशेष समारोहबीच एकता घोषणा सभा आयोजना गरिनेछ ।
रास्वपाले असल शासन र समुन्नतिको साझा एजेन्डा बोक्ने दुई दलबीच एकीकरण हुन लागेको जनाएको छ । विवेकशील साझाले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्नलाई स्वीकार गर्दै निःशर्त एकतामा जाने निर्णय गरेपछि एकता प्रक्रियाले अन्तिम रूप पाएको हो ।
वैकल्पिक राजनीतिको धारबाट उदाएका यी दुई दलको पृष्ठभूमि फरक छ । २०६९ सालमा उज्ज्वल थापाको नेतृत्वमा ‘विवेकशील अभियान’ सुरु भएको थियो भने २०७० सालमा ‘विवेकशील नेपाली दल’ गठन गरी चुनावी प्रतिस्पर्धामा होमिएको थियो । यता, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी भने २०७९ असार ७ गते स्थापना भएको हो ।