काठमाडौँ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेविहार जंगलमा एक युवा र एक युवती मृत अवस्थामा फेला परेका छन्। सोमबार बिहान करिब ११:३० बजे उनीहरू रुखमा झुन्डिएको अवस्थामा भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार, जंगलमा घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकहरूको पहिचान भने खुल्न सकेको छैन। प्रहरीको प्रारम्भिक अनुमानअनुसार मृतक युवक करिब २१ वर्ष र युवती २० वर्षका देखिन्छन्।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी बिट लाटिकोइली र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमान्डमा टोली घटनास्थलमा खटिएको छ।
प्रहरीले घटनास्थलमा शवको मुचुल्का उठाउने लगायतका आवश्यक प्रक्रिया अगाडि बढाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी बुढथापाले जानकारी दिए।