काठमाडौँ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र रास्वपा परित्याग गरेका सन्तोष परियारबीच एकता भई बनेको नयाँ पार्टी ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ आज घोषणा हुँदैछ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे पार्टी एकता घोषणा कार्यक्रम आयोजना गरिएको नेता सुदन किराँतीले जानकारी दिए ।
गत कात्तिकमा १० वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेपछि माओवादी केन्द्र छाडेका जनार्दन शर्माले छुट्टै अभियान घोषणा गरेका थिए । त्यसलगत्तै सन्तोष परियारले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका थिए ।
कात्तिक २८ गते बाबुराम भट्टराई नेतृत्वको नेसपा, शर्माको अभियान र परियारबीच एकताको सहमति भएको थियो । सोही सहमतिअनुसार आज पार्टी घोषणा हुन लागेको हो ।
पार्टी घोषणा कार्यक्रमको अध्यक्षता सन्तोष परियारले गर्नेछन् । यो दल निर्वाचन आयोगमा भने यसअघि नै दर्ता भइसकेको छ ।