काठमाडौँ
अष्ट्रियाली कलाकार गुस्ताभ क्लिम्टको एलिजाबेथ लेडेररको चित्र चित्रकला न्यूयोर्कमा भएको लिलामीमा २३६.४ मिलियन डलरमा बिक्री भयो, जुन लिलामीमार्फत बेचिएको दोस्रो महँगो कलाकृति बनेको छ। यो चित्र १९१४ देखि १९१६ बीच बनाइएको थियो र २० मिनेट चलेको प्रतिस्पर्धामा छ जनाबीच कडा बोलकबोल भयो। क्रेताको पहिचान सार्वजनिक गरिएको छैन।
यो चित्र द्वितीय विश्वयुद्धका बेला नाजीहरूले लुटेका कलाकृतिमध्ये एक थियो र आगलागीबाट लगभग नष्ट हुन लागेको अवस्थामा १९४८ मा बचाइयो। पछि यो एलिजाबेथ लेडेररका दाजु एरिखलाई फिर्ता दिइयो र उनले आफ्नो जीवनको अधिकांश समयसम्म राखेपछि १९८३ मा बिक्री गरे। चित्रमा लेडेरर सेतो वस्त्रमा एशियाली ढाँचासँग सजिएको नीलो पृष्ठभूमिमा उभिएको देखिन्छ।
१९३८ मा नाजीहरूले अष्ट्रिया अधिग्रहण गर्दा लेडेरर परिवारको कला सङ्ग्रह लुटेको भए पनि पारिवारिक चित्रहरू छोडेका थिए भन्ने क्यानडाको नेशनल ग्यालरीको भनाइ छ। यो चित्र १९८५ मा एस्टी लडरका उत्तराधिकारी लेनार्ड ए लडरले किने र न्यूयोर्कको फिफ्थ अवेन्यूस्थित आफ्नो घरमा राखे। यसपटकको लिलामीले अपेक्षाभन्दा निकै बढी मूल्य पायो, किनकि यसको अनुमानित मूल्य १५० मिलियन डलर थियो।
सोही कार्यक्रममा लडरको सङ्ग्रहका अन्य क्लिम्टका चित्रहरू फ्लावरिङ मेडो र फरेस्ट स्लोप एट ऊन्टेराख आम अटर्से पनि ६०–८० मिलियन डलरमा बिक्री भए। अबसम्म लिलामीमा बेचिएको सबैभन्दा महँगो कलाकृति लियोनार्डो दा भिन्सीको सल्भाटोर मुन्डी हो, जसको मूल्य २०१७ मा ४५०.३ मिलियन डलर पुगेको थियो। त्यही दिन कलाकार माउरित्सियो कात्तेलानको १०१ किलोग्राम तौल भएको सुनको कार्यशील चर्पी पनि १२.१ मिलियन डलरमा बिक्री भयो, जसका लागि एक मात्र बोलकबोल आएको बताइयो।