काठमाडौँ।
पूर्वमन्त्री तथा नेता घनश्याम भूसालले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका प्रमुख बाधक नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष खड्गप्रसाद शर्मा ओली रहेको टिप्पणी गरेका छन्। अन्तरिम सरकारले घोषणा गरिसकेको चुनाव रोक्नुपर्ने कुनै भित्री वा बाहिरी कारण नरहेको दाबी गर्दै भुसालले हाल देखिएको अवरोधको मूल स्रोत ओली मात्र भएको बताएका हुन्।
जेनजी आन्दोलनपछि तत्कालीन सरकार र संसद् विघटन भएसँगै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेको थियो। यही सरकारले फागुन २१ का लागि नयाँ निर्वाचन मिति तोकेको छ।
भुसालले भने, "हामीसँग अलरेडी पार्टी छँदै छ। आउने चुनावमा हामीले राम्ररी एजेन्डासहित फेस गर्छौं। हामीले चुनावमा भाग लिने कुरामा हामी प्रस्ट छौँ। हामी विप्लवजीहरूसहित चुनावमा जान्छौँ। चुनावका लागि ओलीजी मात्रै बाधक हो। अरू कुनै कुराले चुनाव रोकिँदैन। अहिले देखिएको ओलीजी मात्रै हो। तर, मलाई के लाग्छ भने सबैले चुनाव प्रचारप्रसार गरिसकेपछि ओलीजी पनि लतारिनुबाहेक अर्को कुनै विकल्प हुँदैन।"
यद्यपि, केही राजनीतिक दलले सरकार चुनावमुखी वातावरण बनाउन नसकेको आरोप लगाउँदै आएका छन्। एमालेले संसद् पुनःस्थापनाको एजेन्डा अघि सारेको छ भने नेपाली काँग्रेसभित्र पनि एकमत छैन। अन्य दल भने चुनावमा जाने तयारीमै छन्।
नेता भुसालले आफूहरू नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित चुनावमा सहभागी हुने घोषणा गरे। आफ्नो पहिल्यै राजनीतिक दल रहेको जनाउँदै उनले एजेन्डासहित चुनावी प्रतिस्पर्धामा उत्रिने स्पष्ट गरे।