काठमाडौँ ।
हुम्ला सदरमुकाम सिमकोट विगत चार दिनदेखि अन्धकारमय बनेको छ। जिल्लाको एक मात्र विद्युत् स्रोत, हिल्दुम जलविद्युत् वितरण केन्द्रमा आएको खराबीका कारण विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द भएको हो। मर्मत कार्यमा ढिलाइ हुँदा सदरमुकामवासीले अन्धकारमा बस्न बाध्य भएका छन्।
विद्युत् नहुँदा दैनिक जनजीवनका साथै सरकारी कामकाजमा समेत गम्भीर असर परेको छ। सरकारी कार्यालयहरूमा सोलार प्रणाली जडान गरिए पनि हिउँदमा पर्याप्त घाम नलाग्ने भएकाले त्यसले पनि काम गर्न सकेको छैन। मोबाइल र ल्यापटप चार्ज गर्न नपाउँदा सञ्चारकर्मीहरूलाई समाचार संकलन तथा सम्प्रेषणमा समेत समस्या भएको पत्रकार नरजङ तामाङले बताए।
हिल्दुम विद्युत् वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र शाहका अनुसार विद्युत् गृहलगायतका संरचनामा मर्मत कार्य गर्नुपर्ने भएकाले विद्युत् वितरण बन्द गरिएको हो। यस केन्द्रले सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले मर्मतस्थलको निरीक्षण गर्दै यथाशीघ्र काम सम्पन्न गर्न निर्देशन दिएका छन्। उनले शनिबारसम्म विद्युत् आपूर्ति सञ्चालन गर्ने गरी काम भइरहेको जानकारी दिए।
यसैबीच, मुहानदेखि फर्बेसम्मको नहरमा पानी चुहिने स्थानको मर्मत कार्य भने पूरा भएको बताइएको छ।