कांग्रेस नेता दीपक गिरीले भने : नयाँ नेपाल बनाउन नयाँ कांग्रेस जरुरी छ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २५, मङ्गलबार

24
Share
Featured
  • कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले मुलुक अहिले अत्यन्त संवेदनशील अवस्थामा रहेको र पार्टीले ‘बिजनेस एज युजुएल’ शैली छोडेर नयाँ नेतृत्व, नीति र कार्यक्रम सहित आमूल सुधार गर्दै जनताको बीचमा ढिलो नगरी जानुपर्ने बताए।
  • उनले जेनजी आन्दोलनका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको छानबिनको माग गरे र भ्रष्टाचार, पारदर्शिता तथा जवाफदेहिताको संस्कृति विकास गर्न संरचनागत सुधार अपरिहार्य रहेको औँल्याए।
  •  गिरीले नियमित महाधिवेशन समयमै गर्ने, भ्रातृ संस्थाहरूको अधिवेशन गराउने, कारबाही भएका कांग्रेसजनलाई आम माफी दिने र पार्टी सुधारको प्रयास गाउँ–नगर तहबाट सुरु गर्नुपर्ने जोड दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीले मंगलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा महाभारतको एउटा प्रसङ्ग स्मरण गर्दै देशको गम्भीर अवस्थालाई चित्रण गरेका छन् ।

‘महाभारत युद्धको १४ औं दिन भगवान कृष्णले आफ्नो दैवी शक्ति प्रयोग गरेर झमक्क साँझ पारि दिनुभयो र अर्जुन असफल भए भन्दै खुसी मनाउन निस्किएका जयद्रथलाई उज्यालो गराएर सजिलै बध गर्न सहयोग गर्नुभयो । यसबाट हामीले बुझ्नुपर्छ कि भदौ २४ को विध्वंश कांग्रेस, एमालेलाई सत्तामा फर्काउन होइन, तिनको विकल्प खोज्न गराइएको थियो।  त्यसैले समयमै हामीले यो  बुझेर कदम चाल्नुपर्छ ।’

उनले पार्टीलाई ‘बिजनेस एज युजुएल’ को शैली छोडेर आमूल सुधार गर्दै नयाँ नेतृत्व, नीति र कार्यक्रम सहित जनताको बीचमा जान ढिलो गर्न नहुनेमा जोड पनि दिए ।

सानेपमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा गिरीले जेनजी आन्दोलनका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै  घटनाको छानबिनको माग पनि गरे । उनले ‘गत भाद्र २४ गते आन्दोलनको आवरणमा कांग्रेसका कार्यालय, नेताका घर र धरोहरहरूमा छानी–छानी गरिएको तोडफोड र आगजनीको घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग पनि गरे ।

उनले देशको अस्तित्वमाथि नै खतरा रहेको भन्दै मुलुक अत्यन्तै संवेदनशील अवस्थामा रहेको पनि उल्लेख गरे । गिरीले भने ‘माझीहरुले सल्लाह गर्दागर्दै सात गाउँ डुबे’ भन्ने नेपाली उखान स्मरण गराउन चाहन्छु । त्यसैलै अहिले पार्टी अनिर्णयको बन्दी हुनु हुँदैन ।’  

बेलायतका पूर्व प्रधानमंत्री  टोनी ब्लेयर र न्युयोर्कका नवनिर्वाचित मेयर  जोहरान ममदानीको उदाहरण दिँदै कांग्रेस पनि समय सुहाउँदो नयाँ नेतृत्वका साथ अगाडि बढ्नुपर्ने बताए  ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै यसलाई सच्याउन र जेन–जी आन्दोलनका माग सम्बोधन गर्न कांग्रेस संसद् पुनःस्थापनाको पक्षमा जाने कि नजाने एउटा औपचारिक धारणा बनाउन पनि आग्रह पनि गरे ।

कांग्रेस बैठकमा पेचिलो बन्दै गएको १५ औं महाधिवेशनको कार्यतालिका सन्दर्भमा धारणा राख्दै गिरीले देशभरिका महाधिवेशन प्रतिनिधिहरूको भावनाको सम्मान गर्दै मंसिर महिनाभित्रै नियमितं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गर्न र भ्रातृ संस्थाहरूको अधिवेशन गराउन पनि माग गरे ।

यसैगरी, गत निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्दै कारबाही गरिएका सबै कांग्रेसजनलाई वर्तमान राजनैतिक परिस्थितिमा आम माफी दिन पनि उनले आग्रह गरे ।

पूर्वमन्त्री समेत रहेका निवर्तमान सांसद  गिरीले भ्रष्टाचारको अन्त्य, पारदर्शिता, र नेतृत्वमा जवाफदेहिताको संस्कृति विकास गर्न संरचनागत सुधार अपरिहार्य रहेको औल्याए । नयाँ  नेपाल बनाउन नयाँ कांग्रेस जरुरी छ, उनले भने।

‘जेनजी पुस्ताले उठाएका मुख्य मागहरू भ्रष्टाचारको अन्त्य, पारदर्शिता , र नेतृत्वमा जवाफदेहिताको संस्कृतिको विकास – केवल मन्त्रीहरुको राजीनामा वा क्याबिनेट फेरबदलले मात्र पूरा हुन सक्दैनन्, किनकि समस्या  केहि दर्जन नेताहरुको मात्रै  भन्दा पनि संरचनागत हो। सुरक्षाका निकाय, प्रशासकीय कर्मचारी, सञ्चारका अगुवा, र नागरिक समाज जस्ता महत्त्वपूर्ण स्तम्भहरूले आफ्नो जिम्मेवारी समयमा पूरा गर्न असफल हुँदा राज्य कमजोर देखिएको छ र जनविश्वासमा गम्भीर रूपमा ह्रास आएको छ । त्यसैले दोषारोपणलाई व्यक्तिमा मात्र सीमित नगरी दल र संस्थागत संरचनामा खोज्नु जरुरी छ, र दीर्घकालीन समाधानका लागि पारदर्शिता, जवाफदेहिता, र प्रभावकारी संयन्त्रलाई संस्थागत रूप दिनु अपरिहार्य भैइसकेको छ,’ उनले भने ।

‘इतिहासले देखाएको छ वास्तविक र दिगो परिवर्तन तब मात्र सम्भव हुन्छ जब आधारभूत तहबाट सबल नेतृत्व जन्मन्छ। अहिलेको जस्तो माथिबाट थोपर्ने प्रक्रिया समाप्त गरी  कुनै पनि बेला नेतृत्व तहमा रहने व्यक्ति तल्लो तह प्रति उत्तरदायी हुने प्रणाली बनाउनु पर्छ । पार्टीको पहुँच जनसमर्थन र निष्ठा अधिकांशतः गाउँ÷वडा÷नगर स्तरका कार्यकर्तामा हुन्छ । तसर्थ पार्टी सुधारको  प्रयास हामीले गाउँ तथा नगर तहबाटै सुरु गर्नुपर्छ,’ उनले भने ।

नेता गिरीले कांग्रेसले  पार्टीभित्र आमूल सुधार गरेर, आन्तरिक लोकतन्त्र सुनिश्चित गरेर भ्रष्टाचारमुक्त र सुशासनयुक्त नेपाल निर्माण गर्ने युवाहरूको चाहना पुरा गर्न सक्ने नीति र कार्यक्रम ल्याएर जनताको बीचमा जान अब ढिला गर्न नहुने पनि दोहो–याए ।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...