काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता डा. बाबुराम भट्टराईले जेनजी अगुवाहरूलाई राजनीति गर्दा धेरै कुरामा ख्याल गर्नुपर्ने सुझाव दिएका छन् ।
राजनीतिक संवाद समितिले काठमाडौंको बानेश्वरस्थित बिहीबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
जेनजी अगुवालाई सुझाव दिँदै भट्टराईले भने, ‘ राजनीतिमा ख्याल गर्नू । सबै दृश्य मात्र हुँदैन । अदृश्य पनि धेरै कुरा हुन्छ । अहिले जोसमा सबै गर्दिन्छौं जस्तो त लाग्छ । तर, वास्तविकतामा सोचेजस्तो त्यस्तो हुँदैन । हात्तीसँग लड्नुपर्दा गाह्रो हुन्छ । त्यसैले राजनीतिमा धेरै कुरामा ख्याल गर्नुपर्छ ।’
उनले अगाडि भने, ‘हिजो हामीले अपूर्णतासहितको संविधान बनायौं । आधा अहिले भरौं, आधा भर्दै गरौंला भनेर लेख्यौं । संविधान जारी भएकै दिन बाहिर आएर मैले बोलेको थिएँ । यो आधा गिलास भरी छ, आधा खाली छ भनेको थिएँ । अहिले संघीयता लगायतका कुरा फ्याक्ने हैन । बरु त्यो अपूर्ण छ । त्यसलाई पूर्ण बनाउनुपर्छ । यी कुरालाई क्रमशः सुधार्नुपर्छ भनेर लाग्नुपर्छ भनेको थिएँ ।’
पुरानो शक्तिले यो सम्भव छैन भने पनि नयाँ चाहिन्छ भनेर १० वर्षदेखि वैकल्पिक शक्तिका लागि आफूहरू लडिरहेको उनले बताए ।
‘संविधान जारी भएको दिनदेखि बोल्ने बाबुराम यहीँ छ । अरू तीनवटा टाउकाले १० वर्षदेखि चलाएका थिए । त्यसविरुद्ध हामी लडिरहेका थियौं । हाम्रो ताकत पुगिरहेको थिएन । त्यसमा अहिले तपाईंहरूको ताकत थपिएको छ । यसमा हाम्रो पूर्ण साथ छ,’ उनले भने ।