काठमाडौँ।
काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागको कार्यालय भत्काउन पुर्याएको डोजर जिल्ला प्रशासन कार्यालय काठमाडौंको हस्तक्षेपपछि फर्किएको छ। प्रशासनले तत्काल प्रहरीलाई नहटाउन महानगरलाई पत्र पठाएपछि महानगरपालिका आफ्नो निर्णयबाट पछि हट्दै डोजर फिर्ता गरेको हो।
महानगरपालिकाले शनिबार बेलुकी जानकारी दिएर ट्राफिक प्रहरी कार्यालय खाली गर्न भनेको थियो। ३० सालदेखि गुठीको जग्गामा रहेको उक्त कार्यालय भत्काउने महानगरको निर्णयपछि ट्राफिक प्रहरीमा अन्योलता छाएको थियो। उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार उक्त कार्यालयमा अहिले पनि झन्डै एक सय जना प्रहरी कार्यरत छन्।
ट्राफिक प्रहरीलाई हटाउने महानगरको निर्णयबारे ट्राफिक प्रहरी महाशाखाले प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग छलफल गरेको थियो। त्यसपछि प्रशासनले प्रहरी बस्नका लागि अन्य विकल्प नभएको अवस्थामा तत्काल प्रहरीलाई नहटाउने भन्दै महानगरलाई पत्र पठाएको उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीले बताएका छन्।
महानगरपालिकाले आज ट्राफिक प्रहरी कार्यालय भत्काउने योजना बनाए पनि, सोही क्षेत्रमा रहेका अन्य अनधिकृत संरचनाहरूमा भने शुक्रबार डोजर चलाएको थियो।